काठमाण्डौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गले चुनाव गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभएको छ ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गर्नुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।सञ्चारमन्त्री खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराउनुभयो । सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत खरेलले बताउनुभयो ।
भण्डारीले समयमै चुनाव सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि मन्त्री खरेलको भनाई छ ।प्रधानमन्त्री कार्कीसँग भेट्नुअघि पूर्वराष्ट्रपति भण्डारीले नवयुवा आन्दोलनका क्रममा आगजनीमा परि खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गर्नुभएको छ ।
















