सिमरा,तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगितामा आयोजक एकता स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ । आइतबार सिमरामा सम्पन्न फाइनल खेलमा एकताले सेन्ट जोन्स एकेडेमीलाई ३–० सेटमा पराजित गर्दै उपाधि उचाल्यो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एकताकी स्मृति श्रेष्ठ घोषित भइन् । फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ भने उपविजेता सेन्ट जोन्सकी मिस्टी थापाले हात पारिन् ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, जिल्ला भलिबल संघका अध्यक्ष खुशी चौधरी, सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल, तथा एकता स्कुलका प्रिन्सिपल मदन रिजाललगायतका व्यक्तिहरूले पुरस्कार प्रदान गरेका थिए ।

समापन समारोहमा उपप्रमुख अधिकारीले विद्यालयस्तरमै आयोजना हुने यस्तो प्रतियोगिताले दक्ष महिला खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै महिला खेलकुदलाई अझ सबल बनाउन निरन्तरता र विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले उपमहानगरपालिकाले राष्ट्रपति रनिङशिल्ड लगायतका कार्यक्रममार्फत खेलकुदलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी पनि दिनुभयो ।

सर्वोत्कृष्ट खेलाडी स्मृति श्रेष्ठ एन प्याब्सनका केन्द्रीय सदस्य अधिकारीले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासको अनिवार्य पक्ष भएको बताउनुभयो । हब संयोजक ढकालले सिमरा– डुमरवाना हबमा आवद्ध १२ विद्यालयले वर्षभरि नै खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।एकता स्कुलले तीन वर्षदेखि महिला भलिबल र सिमराकै पाथीभरा स्कुलले चार वर्षदेखि पुरुष भलिबल प्रतियोगिता गर्दै आएको छ । महिला भलिबलको प्रवद्र्धनमा एकता स्कुलले नेतृत्वदायी भूमिका खेलेको विद्यालयका प्रिन्सिपल रिजालले बताउनुभएको छ । उहाँका अनुसार तीन वर्षभित्र छात्राहरूमा देखिएको अनुशासन, आत्मविश्वास र खेलकुद क्षमतामा आएको उल्लेखनीय सुधार उत्साहजनक रहेको छ ।मंसिर १६ गतेदेखि सुरु प्रतियोगितामा एकता, सेन्ट जोन्स, एक्स सर्भिसम्यान, सिमरा पब्लिक, लोटस एकेडेमी, पाथीभरा स्कुल, अक्षरा पाठशाला, राष्ट्रिय विभूति, मिसन एकेडेमी र होली गार्डेन गरी १० विद्यालय सहभागी थिए ।

Leave a Reply