जियालाल चौधरी
कोल्हबी,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा अवस्थित श्री नव जनप्रगती युवा क्लब उमजनद्वारा उमजन खेल मैदानमा हुन गइरहेको प्रथम करैयामाई गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
उमजन खेल मैदानमा मंगलवार भएको पत्रकार समेलनमा आयोजक समितिले करैयामाई गोल्ड कप बारे जानकारी दिएको हो । श्री नवजन प्रगती युवा क्लब उमजनका अध्यक्ष रुपनारायण यादवको सभापतित्वमा मंग्लवार सम्पन्न भएको कार्यक्रममा क्लबका पदाधिकारीहरु र समाजसेवीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमका संचालन क्लबका सचिव गोपाल चौधरीले गर्नुभएको थियो ।
अनुमानित ७ लाखको लागतमा हुन गइरहेको गोल्ड कपमा वीरगञ्ज सिटी क्लब पर्सा, वीरगञ्ज यूनाईटेड क्लब वीरगञ्ज, जनशक्ति क्लब कोल्हबी, न्यू जनजागृति युवा क्लब निजगढ़, रोयल स्टार जन ज्योति युवा क्लब गुजरा रौतहट, ज्वाला दल गण कलैया, सशस्त्र ए पि एफ बर्दिबास महोतरी र आयोजक क्लब गरी ८ वटा टिमहरुको सहभागी रहने क्लबका अध्यक्ष यादवले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद रु ५० हजार, सिल, मेडल तथा प्रमाणपत्र र उपबिजेताले नगद रु २५ हजार, सिल, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।
यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कृत गरिने छ ।चैत २६ गतेदेखि सुरु हुने सो प्रतियोगिता बैशाख १ गते शनिवारसम्म संचालन हुने छ । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रेडियो पातालगङ्गा १०६.१ मेगाहर्ज कोल्हबी बारा, मेडिकल पार्टनर नेचुरल फर्मा कलैया बारा र प्राविधिक सहयोग बारा जिल्ला फुटबल संघको रहेको छ भने प्रतियोगिताको प्रवद्र्धक करैयामाई गाउँपालिकाको कार्यालय रहेको छ ।त्यस्तै सहयोगी सस्थाहरुमा साना किसान कृषि सहकारी संस्था लि., गरीबी निवारण बचत तथा ऋण सहकारी संस्था लि., हरियाली कृषि सहकारी संस्था लि. लगायतको रहेको आयोजक समितिले जानकारी दिनुभयो ।



















