कलैया,बाराको परवानीपुर गाउँपालिकामा बुधवार एकै परिवारका दुई जनाको विभत्स हत्याको घटनामा विवाहेतर सम्बन्ध जोडिएको खुलेको छ ।घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुको प्रारम्भिक बयानको आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मृतककी श्रीमती र उनको प्रेमी भनिएका अर्का एक पुरुषलाई बुधवार नै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा अज्ञात व्यक्तिहरू प्रवेश गरी सुतेको अवस्थामा परिवारका सदस्यहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए ।
आक्रमणबाट जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घरमुली जगरुप मण्डल र उहाँकी २१ वर्षीया छोरी रिनाकुमारी मण्डल गम्भीर घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कुँवरको कमाण्डमा खटिएको अनुसन्धान टोलीले घटनाको मुख्य कारण विवाहेतर सम्बन्धबाट उत्पन्न घरायसी विवाद रहेको निष्कर्ष निकालेको हो । सोही आधारमा प्रहरीले हत्या योजनामा संलग्न रहेको आरोपमा मृतक राम ईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका– ७ बन्जरिया टोल निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको थियो ।

















