जनकपुरधाम,
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने दाबी गर्नुभएको छ ।शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेस प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको जिकिर गर्नुभयो । साथै, मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी उहाँको थियो ।
‘मधेसले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेस सरकार बनाउने बेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेसवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेको छ । केही वर्षदेखिको समीकरण तोडिएको छ । र नयाँ समीकरणको सुरुवात पनि मधेसबाटै भएको छ,’ उहाँले भन्नुभयोे, ‘मधेसबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ ।’मुलुकमा गणतन्त्र स्थापीत भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सवैलाई आत्मसमिक्षा गर्दै सुध्रने अवसर दिएको उहाँको भनाई थियो ।
जनेजी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत एकता गरिएको उहाँको भनाई छ ।
प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने समेत बताउनुभयो ।एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उहाँको भनाई थियो ।त्यस्तै, मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गर्नुभयो ।


















