सिमरा,भेन्टिलेटर नपाउदा सिमरा बजनिका एक कोरोना संक्रमित पुरुषको वीरगन्ंजमा मृत्यु भएकोछ । संक्रमितले अस्पताल पुगेर पनि भेन्टिलेटर नहुँदा ज्यान गुमाउनु परेको हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीका ६८ वर्षीय पुरुष समयमा नै अस्पताल पुगेपनि भेन्टिलेटर खाली नहुँदा उनले ज्यान गुमाउनु परेको हो । ती संंक्रमितको बिहान साढे ६ बजे नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गएको अस्पतालका चिकित्सक ओमप्रकाश कुशवाहाले जानकारी दिनुभयो । योसँगै वीरगन्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा २ जना र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो । नेशनल मेडिकल कलेजमा ७८ जना कोरोना संक्रमित र १५ जना शंकास्पद संक्रमित उपचारत छन् । संक्रमित सबैलाई अक्सिजन दिएर राखिएको छ । २० वटा आईसियुमा रहेका संक्रमितमध्ये १० जना भेन्टिलेटरमा रहेका छन् । बाराको प्रसौनी गाउँपालिका–२ का ५७ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजे नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टीजीन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । नारायणी अस्पतालमै पर्साको छिपहरमाई गाउँपालिका–५ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । वैशाख २३ गते भर्ना भएका उनको बुधबार बिहान साढे १ बजे मृत्यु भएको उनले बताए । कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा बिरामीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहरमा वीरगञ्जमा १ सय १४ जनाको मृत्यु भइसकेको छ ।

यसैबिच रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका थप तीनजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४, बौधीमाई नगरपालिका–२ र राजदेवी नगरपालिका–२ का एक÷एक जना पुरुष रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here