बाराको सिम्रौनगढ क्षेत्रका किसान अन्नबाली खेतीतर्फ आकर्षित बन्न थालेका छन् । त्यसो त बाराको हरेक स्थानीय तहमा मकै खेती हुन्छ नै ।विगतका वर्षहरुमा सिम्रौनगढका किसानहरुले हिउँदयाममा आलु, फूल, बन्द कोभी कोसे केराउ र राजमा जस्ता तरकारीको खेती गर्ने गरेका थिए । आलु उत्पादनको दृष्टिले सिम्रौनगढ देशभरि नै प्रशिद्ध छ । तर केही वर्षदेखि यहाँका किसान उन्नत जातको मकै खेतीमा आकर्षित बनेका छन् ।

यो सिम्रौनगढका लागि मात्र नभइ समग्र जिल्लाका लागि पनि खुसीको कुरा हो । किनभने कृषिमा जिल्ला आत्मनिर्भर भयो भने यसले जिल्लाको आर्थिक अवस्थामा सुधार आउने हो । भारतबाट अवैधरूपमा भित्रिने सस्तो आलुको कारण बजारमा मूल्य नपाएपछि किसानहरू मकैखेतीतर्फ आकर्षित हुन परेको छ ।अझै केही कृषकहरुले त्यहाँ आलु लगाउने गर्दछन् । सिम्रौनगढको आलुु जिल्लाका लागि मात्र होइन छिमेकी जिल्लामा समेत उत्तिकै लोकप्रिय छ । बजारमा भारतीय आलुहरु छ्यापछ्याप्ती आउने गरेका छन् । यसको सट्टा आफ्नै बारीमा फलेको आलु किन नखाने ? सिम्रौनगढको आलु भनेको जे भएपनि बारा र पर्सा सहित यस आसपासका उपभोक्ताका लागि आफ्नो बारीमा फलेको सरह नै हो ।
यद्यपि मकै खेती पनि बेठीक छैन । पछिल्ला तीन वर्षदेखि मकै खेतीप्रति आकर्षण बढ्दै गएको हो । पहिलो वर्ष देखिएको प्रभाव अहिले तेस्रो वर्षमा आउँदा स्पष्ट देखिन थालेको छ ।सिम्रौनगढ क्षेत्रअन्तर्गत सिम्रौनगढ, अमृतगञ्ज, झवानी, इँटवाल, कचोर्वा, सतुवाई, सलमपुर, खजानी, झौवाही, हरिहरपुर, कनकपुर, देवापुरटेडा,भगवानपुरलगायतका बस्तीहरूमा पहिले आलुखेती गर्ने अधिकांश किसानले यसपटक मकै रोपेका छन् । अहिले मकै प्रमुख बाली बनेको छ भने त्यसपछि गहुँ, आलु, काउली र हरियो केराउ (कोसा) को खेती हुने गरेको छ ।किसानहरूका अनुसार आलुखेती गर्न बीउ, मल, विषादी लगायत खर्च मिलाएर प्रतिकट्ठा करिब रु ३ हजार लागत पर्छ अब स्थानीयहरुले लगाउने यस्ता खेती प्रवद्र्धनका लागि स्थानीय सरकार र प्रदेश सरकारले नीति बनाइ कृषकलाई प्रोत्साहन गर्न आवश्यक छ ।
















