
जनकपुरधाम,मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेस, जनमत पार्टी र तत्कालिन नेकपा (एकीकृत समाजवादी) पार्टीबाट तीनजनालाई स्थान दिइएको छ ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा (एकीकृत समाजवादी) का कनिश पटेललाई विना विभागीय मन्त्रीका रूपमा नियुक्त गर्नुभएको छ । त्यस्तै, जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले तिनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
बाँकी मन्त्रालयका जिम्मेवारी प्रदेशसभाबाट विश्वासको मत लिएपछि टुंगो लगाइने जानकारी दिनुभएको छ ।
यादव गएको शुक्रवार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसैबीच नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते अर्थात् आउँदो बुधवार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
आज बसेको सत्तापक्षीय सात दलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो ।
मधेसमा एमाले नेतृत्वको पूर्ववर्ती सरकारका सबै निर्णय बदर
जनकपुरधाम,मधेस प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्म तत्कालीन क्याबिनेटबाट भएका सम्पूर्ण निर्णयहरूलाई बदर गर्ने निर्णय गरेको हो ।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गत कात्तिक २३ गते राति ठूलो दलको हैसियतमा नियुक्त हुनुभएको थियो ।दीर्घकालीन प्रभाव पार्ने काम नगर्न सर्वोच्च अदालतको परमादेश पश्चात पनि मुख्यमन्त्री यादवले मंसिर १७ गते राजीनामा दिनुअघिसम्म विभिन्न महत्वपूर्ण निर्णयसंगै विभिन्न नियुक्ति तथा कर्मचारी सरुवा समेतका निर्णयहरू गर्नुभएको थियो । नयाँ मन्त्रिपरिषद्को यो निर्णयले ती सबै निर्णयहरू स्वतः बदर भएका छन् ।


















