आर.के. चौधरी
सखुवाप्रसौनी,‘संगठन एकताको लागि, एकता समुदाय विकासको लागि’ भन्ने मूल नाराका साथ थारु कल्याणकारी सभा (थाकस) पर्साको नवौं साधारण सभा शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
पर्साको औराहा पचगावास्थित श्री दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुले ब्यानर पढेर गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरी थारुले थारु समुदायको अधिकार सुनिश्चित गर्न संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘हाम्रो समुदायको विकास र पहिचानको लडाईंमा एकता नै सबैभन्दा ठूलो शक्ति हो। शिक्षा र राजनीतिक चेतना मार्फत हामी अघि बढ्नुपर्छ ।’
विशिष्ट अतिथि एवं पूर्वसांसद जयप्रकाश महतो थारुले थारु समुदाय राज्यको मूलधारबाट अझै पनि पछाडि परेको उल्लेख गर्दै भन्नुभयो, ‘आर्थिक र सामाजिक रूपान्तरणका लागि हामीले आफ्ना बालबालिकाको शिक्षामा विशेष जोड दिनुपर्छ र राजनीतिक रूपमा संगठित हुनुपर्छ ।’
सभाको अध्यक्षता ग्रहण गर्नुभएका थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुले संस्थाले पारदर्शी रूपमा काम गरिरहेको बताउँदै आगामी दिनमा धर्मशाला निर्माण र समुदायको हितका लागि अझ सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थिति कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ का अध्यक्ष बासुदेव महतो थारु, था.क.स. पर्साकी महिला सदस्य एवं पर्सागढी नगरपालिकाकी पूर्व उपाध्यक्ष अर्चना चौधरी थारु, था.क.स. पर्साका उपाध्यक्ष मोहन चौधरी थारु र ठाकुरराम क्याम्पसका प्राध्यापक कृपासिन्धु चौधरी थारुको विशेष उपस्थिति रहेको थियो ।
संस्थाका सचिव मनोज महतो थारुले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा थारु अगुवा, बुद्धिजीवी तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । साधारण सभाले संगठन सुदृढीकरण र सामाजिक विकासका विविध प्रस्तावहरू पारित गरेको छ ।
श्रीदिपनरायण आदर्श नमुना माध्यमिक विद्यालय औराहा पन्चगावाका प्रधानाध्यापक शिवनाथ चौधरी थारुले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply