काठमाण्डौ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ ।पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ ।खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी कानुन अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैन ।खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार तीन वर्षको जेल सजाय तोकेको छ ।खान अहिले जेलमा छन् । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता खान सन् २०१८ को मे मा प्रधानमन्त्री बनेका थिए ।खान संसदले अविश्वास प्रस्ताव पारित गरेपछि सन् २०२२ अप्रिल १० मा पदमुक्त भएका थिए ।खानले आफूमाथि लागेका आरोपको खण्डन गर्दै सबै आरोपहरु राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।अहिले पाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ हुनुहुन्छ ।




















