वीरगन्ज । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।वीरगन्ज–१६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि.द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।डिएसपी बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको छ ।सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उहाँले बताउनुभयो । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएको उहाँले बताउनुभयो ।लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताउनुभयो । निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिनुभयो । स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पानुभयो । थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ ।यसैबीच पर्सा प्रहरीले नेपालमा प्रतिबन्धित लागूऔषधस्थित दुईजनालाई नियन्त्रणमा लिएको छ ।वीरगन्जको सिमावर्ती शहर भारतको रक्सौलबाट लुकाईछिपाई प्रतिबन्धित लागूऔषध नेपाल ल्याएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार लागूऔषधस्थित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सञ्जीव केशरी र चितवनको भरतपुर महानगरपालिका–४ रामघाट बस्ने विशाल श्रेष्ठ पक्राउ परेका छन् ।केशरीलाई प्रहरीले वीरगञ्ज–१६ रजतजयन्तीचोकस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । उनले चलाइरहेको ना. ३२ प ९४०३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सिटमुनिबाट कालो प्लाष्टिकमा लुकाएर राखिएको लागूऔषध नाईट्राभेट बरामद भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताउनुभयो ।गिरीकाअनुसार केशरीको साथबाट १ पत्तामा ३० ट्याब्लेट गरी २० पत्तामा ६०० पिस नाइट्रोभेटको फेला परेको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा मुद्दा चलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।त्यसैगरी प्रहरीले रजतजयन्तीचोकस्थित सडकखण्डबाटै रक्सौलबाट नेपालतर्फ आउँदै गरेको विशाल श्रेष्ठलाई पनि प्रतिबन्धित लागूऔषध फेनारगन–४७ एम्पुल, डाईजेपाम–४७ एम्पुल, नुर्फिन–४७ एम्पुल गरी जम्मा १४१ एम्पुलसहित नियन्त्रणमा लिएको छ । शङ्कास्पद अवस्थामा हिडिरहेको अवस्थामा श्रेष्ठलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषद बरामद भएको डिएसपी गिरीले जानकारी दिनुभयो । उनीमाथि पनि लागूऔषध सम्बन्धि मुद्दा चलाएर जिल्ला अदालतबाट ७ दिन म्याद थपी अनुसन्धान अगाडि बढाइएको छ ।
















