निजगढ,निजगढ नगरपालिकाले नगरमा संचालित फर्म तथा व्यवसाय, वित्तिय संस्था र उद्योग÷व्यवसाय दर्ता, नवीकरण तथा घरजग्गा बहाल कर संकलन गर्न ‘घरदैलो’ अभियान संचालन गर्नेभएको छ ।नगरपालिकाले नयाँसंगै पहिलेदेखि नै संचालनमा रहेका तर दर्ता प्रक्रियामा आउन बाँकी रहेका तथा यसअघि दर्ता भएर पनि नवीकरण नगरेका व्यवसायीहरुको सहजताको लागि घरघरमै पुगेर व्यवसाय दर्ता तथा नवीकरण गर्ने अभियान संचालन गर्न लागेको हो ।
यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले सार्वजनिक सूचनामार्फत व्यवसाय दर्ता, नवीकरण तथा घरबहाल कर सम्बन्धमा सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो । प्रमुख प्रशासकीय अघिकृत गौतमले जारी गरेको सूचनामा सो कार्यको लागि व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यवसायीको हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, घर-जग्गा भाडामा लिएको भए भाडा करार सम्झौता पत्र, जग्गाको धनी पुर्जाको प्रतिलिपि र व्यवसायको पुँजी अनुसारको राजस्व बुझाएको रसिद संलग्न गरी रित पुगेको निवेदन पेस गर्न भनिएको छ ।
त्यसैगरी व्यवसाय नवीकरणका लागि भने घर जग्गा भाडामा लिएको भए भाडा करार सम्झौता र घर बहाल कर राजस्व दाखिलाको रसिद, व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल प्रति, सम्पत्ती तथा मालपोत कर तिरेको रसिद, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि जस्ता कागजपत्र आवश्यक हुने सूचनामा उल्लेख+- छ ।



















