कसैलाई साहारा दिनु वा कसैको अभिभावक बन्नु त गलत कुरा होइन होला तर कयौं कुराहरु व्यवहारमा जायज भएर पनि कानुनमा क्षम्य हुँदैनन् भने कयौं कुरा कानुनमा ठीक भए पनि व्यवहारमा क्षम्य हुँदैनन् ।वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत गर्न त नखोज्नुभएको होला मानौं तर कानुनी रुपमा त उहाँले गरेको कार्य गलत नै ठहरिने छ । कारबाही भने फरक कुरा हो । नेपालको संबिधानले कोही कसैको पिता बनेर नागरिकता दिने कानुनको कल्पना गरेको छैन बरु यसमा फौजदारी कानुन आकर्षित हुने बताएको छ । अब यो हिसावले राजेशमान सिंह मेयरमा बस्ने कानुनी आधारमा भने गुमिसकेको छ ।तर, यो नेपाल हो अनि यहाँ कयौं कुराहरु जवरजस्त सृजना हुन्छन् र गरिन्छन् । यहाँ नैतिकताको आधारमा राजनीति गरिदैन बरु नैतिक पतन भएकाहरु चैं राजनीतिमा जान्छन् र उनीहरु नै हाबी भएर कानुनी बनाउछन् अनि आफ्नै शैलीको कानुनको व्ंयाख्या गर्छन् । मेयर जस्तो पदमा जितेका व्यक्तिले म कानुनको बिषयमा जानकार थिइन भन्न त मिल्दैन होला ? अथवा उहाँले थाहा पाइन पनि त भन्न नमिल्ला ?त्यसो त मेयर सिंहलाई राजनीतिक रुपमा पनि आक्रमण भएको होला तर राजनीतिक रुपमा आक्रमण भयो भन्दैमा सिंहले गर्दै नगरेको कुरा चैं सार्वजनिक भएको छैन । बरु यो विषयमा थप स्पष्ट पार्न सक्ने केही आधार भए सिंहले समाजलाई अनि कानुनलाई दिनुपर्छ होइन भने कानुनभन्दा माथि मेयर हुने कुरै आउदैन । त्यसैले पनि प्रारम्भिक विश्लेषणमा मेयर सिंह चुकेकै देखिन्छ, नागरिकताको यो विषयमा ।

Leave a Reply