पुष्पराज खतिवडा
बारा, जिल्लाको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर १५मा रहेको डुमरवाना बहुमुखी क्याम्पसको १७औं बार्षिकोत्सव तथा १८औं स्थापना दिवस विशेष कार्यक्रम विहिबार सम्पन्न भएको छ ।बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ(किसान)ले क्याम्पसको बार्षिक उत्सवको उद्धाटन गर्नुभएको थियो । नेपाल सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका सांसद श्रेष्ठले मधेस विश्वविद्यालयले संचालन गर्ने गरी प्राविधिक कलेज खोल्न आफूले आवश्यक पर्ने जमिन दान गर्ने बताउनुभयो । ‘प्राविधिक शिक्षालय संचालन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सके सरकारी नसेके आफ्नै निजी भएपनि २ बिगाह जमिन दिन्छु, उहाँले भन्नुभयो, तपाईहरु विश्वविद्यालय संचालनको तयारी थाल्नुस् ।’
शिक्षाको विकासका लागि आफूले जानेको कुरा र गर्न सक्ने काममा कहिले पछि नहट्ने उहाँको भनाई थियो । हिम्मत र आँटसहित केही गर्न भनेर आफु बारा आएको भन्दै श्रेष्ठले काम गर्न कुनै पार्टीभन्दा पनि दृढसंकल्पको जरुरी हुने उहाँको भनाई थियो ।यस्तै कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यले शिक्षालाई सीपसहितको प्रविधियूक्त माध्यम बनाउन सके विद्यार्थीको कमी नहुने बताउनुभयो । ‘विश्वविद्यालयमार्फत प्रविधियूक्त सीप सहितको शिक्षाको विकास आजको आवश्यकता हो, उहाँले भन्नुभयो, गरिखाने शिक्षा दिनसकेमात्रै हाल देशमा भइरहेको विद्यार्थी पलायन रोक्न सकिन्छ ।’
यस्तै पूर्वप्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवले कलेज संचालनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले ग्रामीण क्याम्पसहरुको भौतिक एवं शैक्षिक सुधारमा आफूले निरन्तर सहयोग गरेको बताउँदै भौतिक विकासले मात्रै नहुने भएकाले शिक्षालाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले क्याम्पसमा भर्ना भएका विद्यार्थीले बीचमै पढाइ छाड्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले डुमरवाना कलेजमा भर्ना भएका ४० प्रतिशत छात्रछात्राले बीचमै पढाइ छाड्ने गरेको सुनाउनुभयो । ‘बैदेशिक शिक्षा, रोजगार र विवाह गरी जानेसँगै आर्थिक र पारिवारिक समस्याले पनि विद्यार्थीहरुले बीचमा पढाइ छाड्ने गरेको देखियो ।’ उहाँले भन्नुभयो । उहाँले क्याम्पस संचालनमा आर्थिक अभाव झेल्दै आएको बताउँदै उहाँले २ करोड रुपैंयाको अक्षय कोष निर्माणमा आफूहरु जुटेको सुनाउँदै सबैलाई सहयोगको लागि अपिल समेत गर्नुभएको थियो ।
कार्यक्रममा कलेज निर्माण र संचालनमा योगदान गर्ने दाताहरुलाई पनि कलेजले सम्मान गरेको छ । यस्तै सोही कार्यक्रममा कलेज परिसरमा निर्माण गरिएको शैक्षिक स्तम्भमा टाँसिएको दाताहरुको नामावलीसहितको शिलालेखको समेत अनावरण गरिएको थियो । पूर्वमन्त्री श्रेष्ठसहितका अतिथिले स्तम्भको अनावरण गर्नुभएको हो ।कलेजले १७औं बार्षिकोत्सव तथा १८औं स्थापना दिवसलाई साताव्यापी कार्यक्रम गरेर मनाइएको हो । यस अवसरमा रक्तदान, प्रभातफेरि, खेलकुद प्रतियोगितासमेतको आयोजना गरिएको क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
स्नातक मात्रको अध्यापन हुने क्याम्पसमा हाल मानविकी, शिक्षा र व्यवस्थापन गरी ३ संकायमा अध्यापन हुँदैआएको क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिनुभयो । डुमरवाना क्याम्पसमा हाल ३ सयजना छात्रछात्रा अध्यायनरत छन् । जसमध्ये छात्राको संख्या ८० प्रतिशत रहेकोले धेरैले छोरीबुहारी क्याम्पस भन्ने गरेको सुनेको पनि क्याम्पस प्रमुख शिवाकोटीले बताउनुभयो ।क्याम्पस संचालक समितिका अध्यक्ष पलटप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख भोलाप्रसाद अधिकारी, दानवीर डा. बद्रिराज पाण्डे,कृषि अनुसन्धान केन्द्र परवानिपुरका प्रमुख डा. विपि यादवलगायतकोसहभागिता थियो । कार्यक्रमको संचालन कलेजका प्रोफेसर रंजित सापकोटाको गर्नुभएको थियो ।कार्यक्रममा क्याम्पसमा अध्यायनरत छात्रछात्राहरुले गीत, नृत्यसमेत प्रस्तुत गरेका थिए ।