दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चेरवन्त पथराको प्राङ्गणमा आज अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साह बनियाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले बारागढी गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा नियमावली (परिच्छेद–५) बमोजिम सर्वसम्मत रूपमा पवन चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा रामकुमारी चौधरी, देवेन्द्र राम, मञ्जु चौधरी, शिक्षा अधिकृत जलमती चौधरी, वडा अध्यक्ष मनेजर चौधरी, प्रियात्मा चौधरी, सागर चौधरी रहनुभएको छ भने विद्यालयका प्रधानाध्यापक मञ्जुकुमारी धरुनी सदस्य–सचिव रहनु भएको छ ।
वडा अध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलामा वडा सदस्य बिबोद सहनी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिंहासनी बैरियाका प्रधानाध्यापक सिमा चौधरी, बारागढी सामुदायिक सिकाइ केन्द्र तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मुरारीप्रसाद चौधरी लगायत शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन शिक्षक हरेन्द्र मुखियाले गर्नुभएको थियो ।



















