मनोेज शाह
जीतपुर,विद्यार्थीको विद्यालय आवागमन र बिहानको भीड व्यवस्थापनलाई लक्षित गर्दै जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरीले मंगलवारदेखि लागू गरेको ‘विशेष सडक ड्युटी’ स्थानीयमा अत्यन्तै प्रशंसनीय बनेको छ ।
‘सुरक्षित यात्रा–व्यवस्थित शहर’ अभियानअन्तर्गत नगर प्रहरीहरु बिहान ९ देखि ११ बजेसम्म नगरका प्रमुख चोक–चौराहामा खटिन थालेपछि विद्यार्थी, अभिभावक र सर्वसाधारणले सहज र सुरक्षित यातायात अनुभूति गर्न थालेका छन् ।
नगर प्रहरीका विज्ञानकुमार लामाका अनुसार विद्यालय जाने तथा फर्कने विद्यार्थी, कार्यालय समयका कर्मचारी र सर्वसाधारणको बिहानको ठूलो ओहोरदोहोरका कारण दुर्घटनाको जोखिम समेत बढ्दै आएको थियो । “यातायातलाई सहज र दुर्घटनारहित बनाउन विशेष ड्युटी शुरु गरिएको हो,” उहाँले बताउनुभयो ।
नगर प्रहरीले पनि ट्राफिक व्यवस्थापन कडाइका साथै चालक, यात्रु र पैदल यात्रीलाई नियमपालनका लागि आग्रह गरेको छ । विशेष ड्युटीको पहिलो दिनमै ट्राफिक प्रवाह सुगम बनेको र भीड व्यवस्थापन प्रभावकारी देखिएको स्थानीयको अनुभव छ ।विद्यार्थी आवागमन जस्तो संवेदनशील समयमा नगर प्रहरीले देखाएको सक्रियता ‘उदाहरणीय पहलकदमी’ भएको भन्दै अभिभावक र समुदायले खुलेर प्रशंसा गरेका छन्। “यस्तो नियमित अनुगमन र सतर्कताले दुर्घटना घट्छ र विद्यालय जाने बालबालिकाको सुरक्षा पक्का हुन्छ,” एक अभिभावकले प्रतिक्रिया दिएका छन ।नगर प्रहरीको यस कदमले उपमहानगरलाई ‘सुरक्षित र व्यवस्थित शहर’तर्फ लैजाने कार्यमा सकारात्मक संकेत दिएको देखिन्छ ।

















