हेटौडा,मकवानपुर उद्योग वाणिज्य सङ्घमा आगामी नेतृत्वका लागि भएको निर्वाचनमा प्रमोद सिंह रानाभाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।सङ्घको ५८औँ साधारण सभा तथा निर्वाचन अन्तर्गत आगामी तीन वर्षका लागि शनिवार भएको निर्वाचनको आइतवार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार रानाभाट एक हजार १४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी अनिल अग्रवालले ७६५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी सङ्घको महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र सहकोषाध्यक्ष निलम वैद्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभयो ।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा कूलप्रसाद चौलगाई तथा सदस्यहरूमा बालकृष्ण बजगाईँ, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित हुनुभएको छ । सङ्घमा आजीवन, वाणिज्य, एसोसियट, उद्योग र वस्तुगततर्फ गरी दुई जना ९२ जना साधारण सदस्य रहेकोमा एक हजार ८१६ मत खसेको थियो ।
यसैबीच नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक भेला हेटौंडामा हुने भएको छ ।पानी उद्योगीहरूको राष्ट्रिय संगठनको रुपमा नेपाल पानी उद्योग वाणिज्य महासंघ स्थापना भएपछि प्रारम्भिक भेला १७ माघमा हेटौंडामा हुने भएको हो । देशैभरका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरूको छाता संस्थाको गठन गर्न उद्योगीहरुको प्रारम्भिक भेला सहित साधारण सभा राख्ने निर्णय गरेको हो ।भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ ।कार्यक्रममा देशैभरका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बुचेमजोङले बताउनुभएको छ ।


















