मनोेज शाह
जीतपुर,बाराको महागढीमाई नगरपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको ठूलो पोखरीमा फोहोर थुप्रिँदै जान थालेपछि भक्तजनदेखि स्थानीयबासीसम्मले गुनासो गर्न थालेका छन ।गढीमाई मन्दिरसंगै जोडिएर पश्चिमतर्फ रहेको यो पोखरी प्लास्टिक, कुहिने पदार्थ र अन्य फोहोरले भरिएपछि धार्मिक पर्यटकलाई समेत प्रत्यक्ष असर परेको स्थानीयको भनाई छ ।
देश–विदेशबाट दर्शनका लागि आउने भक्तजनले पोखरीको दयनीय अवस्था देख्दा निराशा व्यक्त गर्ने गरेका छन् । स्थानीय युवा नेता आशिष चौरसियाले मेलाको तयारीसँगै पोखरी सरसफाइ पनि नगरपालिकाको जिम्मेवारीभित्र पर्नुपर्ने बताउँदै भन्नुभयो, “मेला त लगाइयो, तर पोखरी सफाइमा नगरपालिका कार्यालय जिम्मेवार देखिएन । नगर प्रमुखले पहल गर्न नसक्ने हो भने हामी युवाले नै पोखरी सफा गर्छौँ ।”
यस्तै समाजसेवी रामजी यादवले नगरपालिकाको उदासिनताका कारण पोखरी फोहोरको डंगुरमा परिणत भएको आरोप लगाउनुभयो । “दर्शनार्थीको भीड निकै हुन्छ, तर पोखरीको दयनीय दृश्यले नगरको छवि नै बिग्रिँदै गएको छ ।वडाध्यक्षदेखि नगर प्रमुखसम्मको उदासिनताले समस्या अझ जटिल बन्दै गएको हो,” यादवले बताउनुभयो ।उता, यस विषयमा प्रतिक्रिया लिन खोज्दा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवसँग सम्पर्क हुन सकेन ।पोखरी व्यवस्थापनमा देखिएको लापरवाहीप्रति आक्रोशित स्थानीय युवाहरू भने नगरपालिकाले तत्काल पहल नगरे आफूहरुले नै सरसफाइ अभियान थाल्ने तयारी गरेका छन् ।



















