कृष्णउदास खनाल
हेटौंडा । मंगलबार मध्य दिन । हेटौंडाको बजार सुनसान थियो । हेटौंडा पूर्व पश्चिम राजमार्ग भएको शहर पनि हो,यो अर्थमा हेटौंडाको सडक एक महिना अघिसम्म खाली हुन्थेनन् । सडकभरी सवारीको चाप हुन्थ्यो तर अहिले फेरिएको छ । अहिले पूर्व पश्चिम मात्रै होइन हेटौंडाका सबै सडक सुनसान छन् ।

 

सडक सुनसान भएप्छि हेटौंडाको बाटो भएर गन्तब्य तर्फ जानेहरुको भीड भने थामिएको छैन । बिश्वब्यापी रुपमा फैलिएको कोरोना र त्यसपछि सरकारले गरेको लकडाउनपछि सडक सुनसान भए तर यात्रुको पाइला रोकिएन । सयौं यात्रुहरु हेटौंडा भएर ओहोरदोहोर खाली पेट र खाली खुट्टा नै गर्न थालेपछि श्रीकृष्ण प्रणामी सेवा समितिले यात्रुहरुका लागि खाजा र यातयातको ब्यवस्था गरेको छ ।

 

 

हेटौंडाको मुल सडकमा नै कृष्ण प्रणामीहरुले निःशुल्क रुपमा खाना र यातयातको ब्यवस्था मिलाएको कृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य बद्री चौगालाईले बताउनुभयो । उहाँले आफूहरुले यो सेवा बिगत तीनदिनदेखि जारी राखेको जानकारी दिनुभयो । धर्ममा उल्लेख भए अनुसार नै आफूहरुले मानवीय हिसावले खाना खुवाउने ब्यवस्था मिलाएको श्रीकृष्ण प्रणामीका सदस्य एवम् रोटरी क्बलका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो ।

 

 

अहिले हेटौंडा र काठमाडौंमा यो अभियान जारी रहेपनि लकडाउन बढ्यो भने बागमती प्रदेशको सबै जिल्लामा यो अभियान संचालन गर्ने लक्ष्य आफूहरुले लिएको कृष्ण प्रणामी युवा परिषदका बागमती प्रदेशका संयोजक प्रमोद वाग्लेले बताउनुभयो । भोकाएर आएकाहरुका लागि लक्षित गरी खाना र यातयातको ब्यवस्था मिलाएपछि हेटौंडा भएर आवतजावत गर्ने यात्रुहरु लाभान्वित भएका छन् ।

Leave a Reply