हेटौँडा , नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले हेटौंडाको सडक बिस्तार सिमा २५ गज क्षेत्रमा परेको आफ््नो निजी संरचना आफै भत्काउने घोषणा गर्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाको सडक बिस्तारमा आफू बाधक नबन्ने स्पष्ट पार्नुभयो । सडक विस्तार आवश्यक रहेको बताउँदै उहाँले निजी संरचना आफैँ हटाउने प्रतिवद्धता जनाउनुभयो । तर राज्यले व्यक्तिको निजी सम्पत्ति प्रयोग गर्दा उपलब्ध गराउनुपर्ने मुआब्जाका विषयमा आफ्नो लडाइँ भने निरन्तर रहने उहाँले बताउनुभयो । पहिलोपटक सडक विस्तारसम्बन्धी सूचना सार्वजनिक हुँदा नै आफूले नौ वर्षअघि घर खाली गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । प्रभावित स्थानीयको पक्षमा सदैव उभिन तयार रहेको बताउँदै उहाँले २५ गजको सडक क्षेत्रमा पर्ने अधिकांश घरधुरीले अझै मुआब्जा नपाएको उल्लेख गर्नुभयो । राज्यलाई जमिन दिन र घर भत्काउन पनि तयार रहेको बताउँदै राज्यले उधारो भए पनि सहमति गरेर अघिबढ्नुपर्ने सुमार्गीको भनाइ थियो ।
सडक विस्तार क्षेत्रमै मात्र पाँच हजारभन्दा धेरै व्यवसायी रहेको उल्लेख गर्दै उहाँले ती व्यवसायीहरूको व्यवस्थापनका लागि उपमहानगरपालिकाले पहल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । व्यवसायीबाट कर उठाउने तर व्यवसायीलाई नै अप्ठ्यारो पार्ने गतिविधि नगर्न उपमहानगरपालिकालाई आग्रह समेत गर्नुभयो ।मंसिर ५ गते जारी सार्वजनिक सूचना मार्फत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र पर्ने संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले आग्रह गरेको छ । यसको समयसिमा मंसिर १९ गते सकिदैछ ।


















