गत भदौ २३ गते देशभर एउटा आन्दोलनको विगुल फुकियो, जसका कारण ठूलो मानवीय र भौतिक क्षति भयो अनि २४ गते सरकार मात्र ढलेन, सरकारमा रहेकाहरु हेलिकप्टर चढेर भाग्नु पर्ने अवस्था आयो र करिब करिब हप्तादिन जसो त ठूला भनिएका दल र तिनका नेताहरु सैनिक ब्यारेकमा बस्नु परेको थियो ।मुख्यतः जेनजीहरुको नाउमा भएको आन्दोलनले सत्ता परिवर्तन गरिदियो र सुशीला कार्कीलाई प्रधानमन्त्री पनि बनायो तर त्यसको परिणाम आज आएर ठीक नआएको देखियो ।

सुशासनका लागि भन्दै दर्जनौं होनाहार युवाहरुले ज्यान गुमाए तर उनीहरुले जेका लागि ज्यान दिए, जसका विरोधमा उनीहरु उत्रिए, उनीहरुले बनाएको वर्तमान सरकार त्यही बाटोमा हिडेको छ । यो देशमा लगभग तीन महिनाको अन्तरालमा न त सुशासन आएको छ न त भ्रष्टचारजन्य क्रियाकलापमा कमी नै आएको छ । बरु प्रधानमन्त्री र उनका नजिक रहेकाहरु हिजोकै बाटोमा हिडेको कुरा सार्वजनिक भएको छ ।

सुशीला कार्कीका पिएले नै आफ्नै आफन्त, परिवारका सदस्यलाई जागिर खुवाउने हो भने कसरी जेनजीले परिवर्तन गरे र ? बरु आन्दोलनको भावनामाथि झन् ठूलो घात पो हुदैछ । यसमा पनि जेनजीहरु अब रमिते नै बन्नु परेको मात्रै होइन, जेनजीहरुले चाहेर पनि प्रधानमन्त्री कार्कीलाई भेटनसमेत पाएका छैनन । हुनत, परिवर्तन भन्ने कुरा कसैले चाहेको जस्तो छिटो त हुदैन तर पनि हुनु चैं पर्दछ फेरि । जे भएपनि यो सरकारको काम गराइ ठीक छैन तर पनि सरकारको विकल्प खोज्ने यो समय पनि होइन । बरु जेनजीहरुले पनि आफ्नै पार्टी खोलेर चुनावमा भाग लिने अनि बहुमत ल्याएर सरकार गठन गर्ने र परिवर्तनको लागि आफूहरुले चाहेअनुसारको काम गर्दा उचित होला ।

Leave a Reply