वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिकाका शिक्षकहरुले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो बुझाएका छन् ।चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रमुख जिल्ला अधिकारी अर्याललाई भेटेर आइतवार विद्यालयको साँचो हस्तान्तरण गरेका हुन् ।

शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा मासिक तलब माग गर्दै बहुदरमाईका २० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीलगायतले प्रजिअ अर्याललाई साँचो हस्तान्तरण गरेका थिए ।
शिक्षक, कर्मचारीहरुले सात महिनासम्मको तलब नपाएको र पटकपटक माग गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर साँचो बुझाउनु परेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले बताउनुभयो ।विद्यालयमा पठनपाठनका लागि तलबसहित परीक्षा सञ्चालनदेखि अन्य कार्यका लागि आवश्यक पर्ने रकम पनि पालिकाबाट निकासा नभएको अध्यक्ष यादवको भनाई छ । यसअघि पनि शिक्षकहरुले गत बुधवारबाट ३ दिनसम्म विद्यालयमा आधा समयसम्म मात्र पठनपाठन गरेर सांकेतिक रुपमा विरोध गरेका थिए ।

लामो समयसम्म पनि तलब नपाएपछि विद्यालयको साँचो बुझाउने अवस्था सृजना भएको श्री भंगी साह माद्यामिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले बताउनुभयो ।शिक्षकहरुले प्रदान गरेको विद्यालयको साँचो ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिक्षकहरुले विद्यालय बन्द गर्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद भएको बताउनुभयो ।

Leave a Reply