कलैया,“रामा यादव स्मृति पत्रकारिता पुरस्कार” बाट बाराकी पत्रकार शरदा पोखरेल र महोत्तरीकी चान्दनी झालाई सम्मान गरिने भएको छ ।रामा यादव स्मृति प्रतिष्ठानद्वारा आइतवार आयोजना गरिएको एक विशेष कार्यक्रममार्फत “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८१ बाट पोखरेल र “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८२ बाट झालाई पुरस्कृत गरिने घोषणा गरिएको हो ।पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका महिला पत्रकारलाई लक्षित गर्दै सुरु गरिएको यो पुरस्कार रेड टेलिभिजनकी संस्थापक तथा सञ्चार क्षेत्रकी अग्रणी स्व. श्रीमती रामा यादवको पुण्यतिथिको अवसरमा प्रदान गरिदै आइएको छ ।

पुरस्कार राशी २६ हजार १ रुपैया रहेको छ । स्वास्थ्य क्षेत्रका विकृति, विसंगति तथा बेथिति विरुद्ध कलम चलाउने महिला पत्रकारलाई सम्मान स्वरूप यो पुरस्कार प्रदान गरिँदै आएको प्रतिष्ठानका संयोजक जयप्रकाश यादवले जानकारी दिनुभयो । पुरस्कार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शिव पुरीले कोरोना महामारीका कठिन घडीमा जोखिम मोलेर काम गरेका पत्रकारहरुको योगदानलाई स्मरण गर्दै, राज्यले अझै पनि पत्रकारहरुप्रति न्याय गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले स्व. रामा यादवको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा समेत गर्नुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले रामा यादवले जिल्लामै पहिलो टेलिभिजनको स्थापना गरी रौतहटलाई राष्ट्रिय मञ्चमा उभ्याएको उल्लेख गर्दै, पत्रकारिता पुरस्कारको निरन्तरतामा महासंघको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रभातकुमार झाले आम सञ्चारकर्मीले भोगिरहेको पीडामाथि प्रकाश पार्दै, कोरोना महामारीको समयमा पत्रकारहरुले व्यहोरेको क्षतिलाई अझै पनि राज्यले उचित सम्बोधन गर्न नसकेको गुनासो व्यक्त गर्नुभयामे । स्व. रामा यादवको निधन २०७८ साल बैशाख २८ गते कोरोना संक्रमणका कारण भएको थियो । त्यसपछि श्रीमान जयप्रकाश यादवले उहाँको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।२०७९ मा पोखराकी पत्रकार अनिषा जयन्ती श्रेष्ठ, २०८० मा प्राइम टेलिभिजनकी सिर्जना कार्की सम्मानित भइसक्नुभएको छ भने २०८१ मा बाराकी शरदा पोखरेल र २०८२ मा महोत्तरीकी चान्दनी झालाई पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।प्रतिष्ठानका अनुसार २०८१ र २०८२ वर्षको पत्रकारिता पुरस्कार आगामी श्रावण १९ गते रेड टेलिभिजनको वार्षिकोत्सवको अवसरमा एक विशेष समारोहबीच प्रदान गरिनेछ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष दिलीपबहादुर सुब्बा कार्की, पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार राकेश यादवले गर्नुभएको थियो ।

Leave a Reply