लामो समय एमाले राजनीतिमा क्रियाशील बाराका नेता पुरुषोत्तम पौडेलले पनि एमालेमा विद्रोहको विगुल फुकेको जस्तो देखिन्छ । अथवा भनौं पार्टी अध्यक्ष केपी शर्मा ओली इतर पक्षको प्यानलबाट उहाँले सचिव पदमा उम्मेदवार दर्ता गराउनु भएको छ ।आफू एमालेमा लामो समय रहेको र अब पदाधिकारीमा उठ्न चाहेको कुरा बेला बखतमा बताउदै आउनुभएका पौडेलले उम्मेदवारी दर्ता गराएपछि अब एमाले रुपान्तरण आवश्यक छ भन्ने पनि उहाँले सन्देश दिन चाहनु भएको छ ।

पुरुषोत्तम पौडेलको सचिव पदको उम्मेदवारी मोफसल खासगरी मधेसबाट एमाले नेतृत्वको लागि भएको पहिलो दाबी पनि हो । सोमबार उम्मेदवारी दर्ताको अवस्था हेर्दा एमालेमा नयाँ पुस्ताले प्रभावकारी हस्तक्षेप गर्न खोजेको जस्तो देखिन्छ । पदाधिकारीहरुमा नयाँ र युवा भनिएकाहरुको पर्याप्त उम्मेदवारी परेको छ ।नेकपा एमाले यो देशको आजको दिनसम्म कसैले स्वीकार नगरे पनि सबैभन्दा ठूलो पार्टी हो । गत चुनावमा एमालेले समानुपातिक मत सबैभन्दा धेरै ल्याएको थियो र अर्को चुनाव नहुँदासम्म एमालेले ठूलो पार्टीको दर्जा पाइनै रहन्छ । यसमा कसैले पनि आपत्ति जनाउनु पर्दैन । फेरि घोषित समयमा चुनाव होस्, कसले कति मत ल्याउँछ अनि एमालेको हैसियत के होला त्यो कुरा त्यति नै बेला चर्चा गरौंला । तर अहिलेका लागि एमाले ठूलो र पुरानो कम्यूनिष्ट पार्टी हो । नेपालमा संसदीय राजनीतिमा एमाले कम्यूनिष्टहरुमा अनुभवी र पुरानो हो ।

यसको महाधिवेशन भइरहदा यसको रुपान्तरणको विषयमा कुरा उठ्नु जायज पनि हो । एमालेको अध्यक्षमा लगभग सर्बोसर्वा केपी ओली रहेको अवस्थामा कम्तीमा ईश्वर पोखरेलले उहाँको विरुद्ध उम्मेदवारी दिनुभएको छ ।हुन त् अघिल्लो पटक नेता भीम रावल पनि केपीसंग अध्यक्षमा चुनाव लड्नु भएको उम्मेदवारी थियो । तर त्यो बेला र अहिलेको अवस्था फरक छ । त्यो बेला केपी ओली एमालेको अध्यक्ष भए पनि नभए पनि जनमानसलाई खासै मतलब थिएन तर अहिले धेरैले यो महाधिवेशनबाट एमालेको नेतृत्वमा को आउँछ भनेर आम नेपाली जनताले चासोका साथ हेरेका छन ।त्यसैले एमालेमा उदाउन खोजेको नयाँ कुराले केही नयाँ दिनेछ, त्यसका लागि थोरै दिन कुर्न आवश्यक छ ।

 

Leave a Reply