वीरगञ्जमा आइतवार दाहिजो नलिई विवाह गर्ने एक जोडीलाई सम्मान गरिएको छ ।दाहिजो प्रथालाई नेपालको कानुनले बन्देज गरेको छ भने समाजले पनि अपराध मानेको छ । तर पनि तराई मधेसमा दाहिजो प्रथा एक कुरितिको रुपमा जवरजस्त रहेको छ ।दाहिजो बिना विवाह नै गर्न हुदैन कि भन्ने आम धारणा समेत तराई मधेशमा बढी देखिन्छ । दाहिजो प्रथा गलत हो भन्ने थाहा हुदा हुदै पनि यो विकृति तराई मधेशमा हटेको छैन । दाहिजो नलिने जोडीलाई सम्मान गरेर यो एक सामाजिक अपराध हो भन्न पनि खोजिएको हो ।

छोरी पाउने घर अझै पनि तराई मधेशको सवालमा पीडित नै छ । पहाडी भेगमा पनि यो समस्या हुदै नभएको होइन तर पहाडी भेगको तुलनामा मधेशमा भने ब्याप्त नै छ । यो प्रथाको अन्त्यका लागि समाजका अगुवाहरु एक एक हुन आवश्यक छ । तर कतिपय अवस्थामा समाजका सभ्य भनिएकाहरु समेत दाहिजो प्रथामा मुछिएको पनि देखिन्छ ।
यो झनै पीडादाही हो । जे भए पनि अझै पनि तराई मधेशमा यो दाहिजो प्रथाका विरुद्धमा अभियान संचालन गर्न आवश्यक छ । अझै पनि छोरीहरुका लागि संघर्ष गर्न आवश्यक छ ।छोरीलाई शिक्षा दिने हो दाहिजो होइन यो कुरा पनि समाजमा स्पष्टसंग अगाडि बढाउन आवश्यक छ । छोरी पाउने आमा त भाग्यमानी हो भनेर समाजमा स्थापित गराउन पनि जरुरी छ अनि मात्रै यो कुरितिको अन्त्य हुनेछ ।















