मनोज शाह
जीतपुर, बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २७ को बिजुलपुरदेखि बरेवा जोड्ने सडकको इमृती नदीमा पुल निर्माण कार्यको सोमबार शिलान्यास गरिएको छ । बारा क्षेत्र नं. ३ की पूर्व प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह र वडा नं. २७ का वडा अध्यक्ष अशोककुमार तिवारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
आर्थिक वर्ष २०८२-०८३ अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमार्फत पूर्वाधार विकास कार्यालय बाराले करिब १ करोड रुपैयाँ लागतमा नदी पुल निर्माण कार्य सञ्चालन गर्न लागेको हो । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको संरचनाका कारण स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान हुने विश्वास गरिएको छ ।
शिलान्यास कार्यक्रममा पूर्वमन्त्री ज्वाला साहले पुल निर्माण कार्य सम्पन्न भएपछि वरपरका बस्तीका नागरिकलाई सहज आवतजावतमा ठूलो राहत पुग्ने बताउनुभयो । उहाँले यसबाट क्षेत्रीय विकाससँगै व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।स्थानीयवासीले लामो समयदेखि प्रतिक्षामा रहेको योजना कार्यान्वयन चरणमा प्रवेश गरेपछि खुशी व्यक्त गरेका छन् ।


















