मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुर बजारमा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन अव्यवस्थित बन्दै गएपछि स्थानीय सर्वसाधारणले सास्ति बेहोर्नु परेको छ ।सडकको छेउ–छाउ सबै ठाउँमा जथाभावी सवारी र ढुवानीका साधन पार्किङ गरिनाले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको सिक्स–लाइन सडकमा दिनहुँ गाडी जाममा पर्ने गरेको छ । कतिपय अवस्थामा चालकहरुले सडकको जेब्रा क्रसिङमा गाडी राख्ने गरेकाले पैदल यात्रुहरु थप समस्यामा पर्दैआएका छन ।
जीतपुर ट्राफिक पोस्टका प्रमुख सञ्जयकुमार यादवको नेतृत्वमा रहेको टोली बजारभित्र आवश्यक समय र स्थानमाको साटो सुनसान तथा ‘कमाइ हुने’ स्थानमा मात्र सक्रिय हुने गरेकोले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा चरम अव्यवस्था सिर्जना हुदैआएको स्थानीय व्यापारीहरूको आरोप छ ।

व्यवसायी रामकुमार गुप्ताका अनुसार ट्राफिकको कमजोरीले व्यवसायीहरू निकै पीडित छन् । ‘बजार क्षेत्रमा जता ततै रोडमै गाडी रोकिएका हुन्छन्, उहाँले भननुभयो, तर त्यस्ता स्थानमा ट्राफिक प्रहरी नै भेटिँदैन ।’स्थानीय चालक र व्यवसायीहरूको भनाई अनुसार केही ट्राफिकले लोकल सवारीसँग दैनिक २ हजारदेखि ३ हजार रुपैयाँसम्म उठाउने गरेका छन । आफ्नो नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘सडकमा अवैध पार्किङ र भीडभाड बढिरहँदा ट्राफिकले नदेखेझैँ गर्छ । तर सुनसान स्थानमा भने रोकथामको नाममा ‘माल’ उठाउने काम भइरहेको देखिन्छ ।’त्यसैगरी सडकमा अटो, इ–रिक्सा र म्याक्सिमो जस्ता साना सवारी साधधहरु जथाभावी चल्दैआएका छन् । पार्किङ्ग गर्न नमिल्ने सडकमा गाडी लाम लाग्दा व्यवसायी र सर्वसाधारणलाई पैदल हिडडुल गर्न कठिन हुने गरेको स्थानीयहरूको गुनासो छ ।स्थानीयवासी र व्यवसायीहरूले जीतपुर बजारमा पारदर्शी, नियमित र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन ।

Leave a Reply