वीरगन्ज,वीरगन्जस्थित कृषि औजार कारखानामा भएका सामग्रीको लगत संकलन सुरु भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो । मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ ।

केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।

कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् ।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत स्टिमेट गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर प्रज्वल कोजुले औजार उपकरणको अवस्था चेकजाँच गरिरहेको बतानुभयो ।

६० वर्ष पुरानो टेक्नोलोजी भएकोले केही मेसिन औजारको अपग्रेड गर्नु आवश्यक देखिएको बताउँदै उहाँले कतिपय यत्तिकै पनि चलाउन सकिने बताउनुभयो ।

बन्द रहेका वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाको सुरक्षाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिइएको छ । कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीका अनुसार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मुल्यांकन गरिरहेको बताउनुभयो ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बतानुभयो ।

‘पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ । इलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ । भइरहेको कुरालाई मर्मत सम्भार गराउँछौं । सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौंं । जो पहिला उत्पादन भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो । यसलाई आधुनिकीकरण गर्नु नै पर्छ । यहाँका मेसिन सबै हातले चलाउने छ । अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

२÷३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उहाँले बताउनुभयो ।

Leave a Reply