निजगढ,बाराको निजगढ नगरपालिकाले १४औं नगरसभाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट पेस गर्नुभएको छ ।नगरपालिकाको सभा हलमा सोमवार उपप्रमुख सोममायाँ थिङ्गले आगामी आर्थिक वर्षका लागि चालु, पूँजीगत खर्च तथा वित्तीय व्यवस्थापन रकमसमेत गरी ९० करोड़ १ लाख रुपैया बराबरको बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख थिङ्गले चालु खर्चतर्फ ५० करोड ५ लाख तथा पूँजीगत खर्चतर्फ ३९ करोड ९६ लाख विनियोजन गरिएको बताउनुभएको थियो ।बजेटमा निजगढ नगरपालिकाको पूर्वाधार विकासमा रूपान्तरणकारी कार्यक्रमको रूपमा निरन्तर रूपमा हरेक आर्थिक वर्षमा नगÞरका प्रत्येक वडामा ५ सय मिटर कालोपत्रे गर्ने गरी “नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम”तर्फ ५ करोड रकम विनियोजन गरिएको छ ।त्यसैगरी १३ वटा वडालाई वडागत रूपमा सेवा प्रवाह तथा विकास योजना संचालनको लागि चालुतर्फ ३ करोड ९० लाख तथा पूँजीगततर्फ ९ करोड १० लाख बिनियोजन गरिएको छ । संघीय सशर्त पूँजीगततर्फ १ करोड ४९ लाख तथा चालु कार्यक्रमतर्फ २५ करोड ५९ लाख विनियोजन गरिएको छ । विशेष अनुदानबाट संचालन हुने पूँजीगत कार्यक्रमतर्फ १ करोड ४० लाख विनियोजन गरिएको छ । यसैगरी समपुरक अनुदानबाट संचालन हुने कार्यक्रमतर्फ २ कÞरोड ७० लाख विनियोजन गरिएको जनाइएको छ ।

नगरभित्र सम्भावित विपद जोखिम न्यूनीकरण, रोकथाम एवं उद्धार तथा राहतको लागि बजेटमा १ करोड ९० लाख व्यवस्था गरिएको छ । कृषि बीमा, खानेपानी तथा दूधमा दिने अनुदानको निरन्तरताको लागि २ करोड विनियोजन गरिएको छ । सामुदायिक वन, सहकारी तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रीय संघ संस्थाहरुसंगको साझेदारीमा संचालन हुने कार्यक्रमको लागि १ करोड विनियोजन गरिएको छ । नगरमा पूर्वाधार निर्माण, पूर्वाधार मर्मत संभार, नगरपालिकाको प्रशासनिक भवनको तला थप लगायतको पूर्वाधार निर्माणको लागि पनि बजेटमा आवश्यक रकम विनियोजन गरिएको बताइएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुद, पर्यटन विकास, कृषि तथा पशु विकास कार्यक्रममा प्राथमिकताका साथ बजेट व्यवस्था गरिएको उपप्रमुख थिङ्गले बताउनुभएको छ ।

त्यसैगरी नगरपालिकाले आन्तरिक स्रोततर्फ (जनसभागिता समेत गरी) १० करोड आम्दानी अनुमान गरेको छ ।
नेपाल सरकार तथा मधेस प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ ३८ करोड ३० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ७९ लाख, सशर्त अनुदानतर्फ २६ करोड १७ लाख, समपुरक अनुदानतर्फ ८५ लाख तथा विशेष अनुदानतर्फ ९० लाख रकम प्राप्त हुने अनुमान पनि बजेटमा गरिएको छ ।प्रदेश सरकारबाट प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ वित्तीय समानीकरण अनुदानमा ९० लाख, समपुरक अनुदान तथा विशेष अनुदानमा ५०–५० लाख अनुमान गरिएको छ ।

Leave a Reply