राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकामा आजदेखि दुई ठाउँमा निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनीमा रहेको श्री अजिज मियाँ माविको सभा हलमा आयोजना भएको निःशुल्क तयारी कक्षाको एक कार्यक्रमका बीच प्रमुख अतिथि गाउँपालिका वडा अध्यक्ष मनौवर मियाँले उद्धाटन गर्नुभएको थियो ।
उद्धाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मियाँले लोकसेवा आयोगको तयारीको लागि अब बाहिर जान नपर्ने बताउनुभयो । उहाँले अब आफ्नै गाउँ ठाउँमा नायब सुब्बा, खरदार, नेपाल प्रहरीको लागि लोकसेवा आयोगको तयारी गरि नेपालमा जागिर खान सकिने र गाउँपालिकाको नाम चम्काउन सकिने बताउनुभयो ।गाउँपालिकाका विद्यार्थीहरुले यसअघि वीरगञ्ज, हेटौडा, काठमाडौ लगायतको शहरमा पुगेर महंगो खर्चमा लोकसेवा आयोग कक्षाको तयारी गर्ने गरेको बताउदै उहाँले गाउँपालिकाले संचालन गरेको निःशुल्क तयारी कक्षाले गाउँमा आफ्नै घरबाट सुविधा पाउन सक्ने वडा अध्यक्ष मियाँले बताउनुभयो ।
निःशुल्क लोकसेवा आयोग तयारी कक्षा उद्धाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद खतिवडा, वडा अध्यक्ष , राजकिशोर पटेल, अब्बास मियाँ, गाउँपालिकाका लेखापाल शोनुकुमार सोनी, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, लोकसेवा आयोग प्रशिक्षक जितेन्द्र राम र गोबिन्द पटेल, बृजेश पटेललगायतको सहभागिता रहेको थियो ।लोक सेवा आयोगको तयारी कक्षामा ३५-३५ गरि ७० जनाको सहभागीता रहेको छ । राष्ट्र स्किल डेभलपमेन्ट प्रालि वीरगञ्ज र मधेस स्किल तालिम केन्द्र वीरगञ्जको अयोजनामा भएको सो निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा ६० दिनसम्म चल्ने जनाइएका छ ।


















