सिमरा,इलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका अन्दाजी ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन् । प्रहरीले कलवारलाई शनिबार राति उनकै पसलबाट नियन्त्रणमा लिएको हो ।
घटनाको गम्भीरतालाई हेर्दै उनलाई हिरासतमा राखिएको र थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जनाउनुभएको छ ।
मधेस प्रदेशमा पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरू बढ्दो क्रममा देखिनु चिन्ताको विषय बनेको छ । विशेषगरी बारा, पर्सा र रौतहट जस्ता जिल्लाहरूमा दाइजो प्रथा, बोक्सीको आरोप र यौनजन्य दुव्र्यवहारका घटनाहरूले समाजलाई ग्रस्त बनाएको छ ।
वीरगञ्जको नवदुर्गा लजमा भारतीय दम्पती मृत फेला
वीरगञ्ज । वीरगञ्जस्थित बसपार्कको भानु चोकमा रहेको एक लजमा आइतबार बिहान एक दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नवदुर्गा लजमा विगत तीन दिनदेखि बस्दै आएका भारतीय दम्पती आफ्नै कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
प्रहरीले दिएको जानकारीअनुसार करिब ४० वर्षीय पुरुष र ३५ वर्षीय महिला कोठामा झुन्डिएको अवस्थामा देखेपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि पुगेको प्रहरी टोलीले शव बरामद गरेको हो ।हालसम्म मृतक दम्पतीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















