कलैया,पचरौता नगरपालिकाका स्थानीयले उपचारका लागि आवश्यक रगत निःशुल्क प्राप्त गर्ने भएका छन् । नगरपालिकाको कार्यालयले नगरबासीको उपचारको लागि निःशुल्क रगत प्राप्त गर्ने व्यवस्था मिलाएको हो ।नगरपालिकाले बिहिवार नेपाल रेडक्रस सोसाइटी पर्सासंग नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार नगरपालिकाभित्रका स्थानीयले देशका जुनसुकै स्थानमा पनि उपचारका लागि आवश्यक रगत निःशुल्क प्राप्त गर्ने र उक्त रगतबापतको रकम नगरपालिकाले भुक्तान गर्नेछ ।निःशुल्क रगत प्राप्त गर्नका लागि पचरौता नगरपालिकाका बासिन्दा रहेको परिचय खुल्ने पत्र आवश्यक पर्नेछ । बारा र पर्साबाहेक देशका अन्य स्थानमा रगत आवश्यक परेमा नगरपालिकाले सोसाइटीसंग समन्वय गरेर नगरबासीलाई निःशुल्क रगत उलपब्ध गराउने गरी सम्झौता भएको छ ।सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिृकत महेशकुमार मिश्र र नेपाल रेडक्रस सोसाइटी पर्साको तर्फबाट सभापति वीरेन्द्रराज कंडेलले हस्ताक्षर गरेका छन् ।नगरबासीको सहजताका लागि नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले उक्त सम्झौताका लागि पहल गर्नुभएको थियो । सम्झौताको क्रममा नगर प्रमुख सिंहसहित उपप्रमुख नसिमा खातुन, वडाध्यक्ष लक्ष्मी यादव, प्रशासन प्रमुख गौरी साह, शिक्षा शाखा सहसंयोजक मुकेश सिंह, स्वास्थ्य शाखा प्रमुख नवल यादव, लेखा शाखा प्रमुख हासिम मिया अंसारीलगायत नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply