नेपालमा हिंसाको राजनीति धेरै नै हुने गरेको छ । कसैले आफ्नो निहित स्वार्थ पूर्तिका लागि हिंसाको साहारा लिने गरेको पाइएको छ । भर्खर भदौको २३-२४ गते पनि नेपालमा यस्तै भयो । जसले जे भनेपनि ७६ जना नेपालीहरुको अनाहकमा ज्यान गएको छ ।
यसले देशमा केही परिवर्तन त भयो होला नै, त्यो के हुन्छ हेर्नै बाँकी छ । तर अहिलेलाई धेरैको परिवार भने रित्तिएको छ । हिंसाको राजनीतिले कसैलाई फाइदा गर्दैन । यो सबैले बुझ्न आवश्यक छ तर अझै सबैले बुझेको जस्तो देखिदैन ।
बाराको सिमरामा २ दिनयता फेरि हिंसाको संकेत देखिएको छ । जेनजीको नाउँमा होस् वा कुनै दलको नाउँमा यसरी झडप हुनु राम्रो विषय होइन । जेनजीका पनि माग होलान् छन नै तर यसो भन्दैमा दिनदिनै झडप हुनु राम्रो कुरा होइन । यसले देशमा फेरि मुडभेडको अवस्था उत्पन्न हुनसक्छ । यस्तोमा सबै नागरिक र सरकार पनि सचेत बन्न आवश्यक छ । यस्ता घटनामा बेलैमा सचेत हुुन सकिएन भने फेरि पनि घुसपैठ हुनेछ र समाजमा हिंसाको अवस्था सृजना हुुन पनि सक्नेछ ।
त्यसैले पनि बाराको सिमरामा दिनदिनै जसो भइरहेको प्रदर्शनले देशको अवस्था सही नभएको पनि देखाउँछ । सरकार, जेनजी, दल सबै सचेत र जिम्मेवार बन्नु पर्दछ ताकि हिंसा नहोस् । शान्तिपूर्ण रुपमा माग राखौं तर हिंसा हुने वातावरण नबनाऔं । यसैमा देश र जनताको भलो छ ।















