नरेश गुप्ता
बरियारपुर,बाराको दक्षिणी सीमावर्ति भेगमा अवस्थित पचरौता नगरपालिकामा स्थानीय तहको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ । नगरपालिकाको मेयर पदमा नेकपा एमालेका जलान्धर सिंह, जसपाका रमेश यादव र लोसपाका श्याम गुप्ताबीच तीव्र प्रतिस्पर्धा देखिएको हो ।
तत्कालीन मधेसी जनअधिकार फोरमबाट गत चुनावमा मेयर पदमा निर्वाचित रमेशकुमार यादव र तत्कालीन माओवादीबाट चुनाव लडेका जलान्धर सिंहलाई झिनो मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा पचरौता नगरपालिकामा जसपा नेपाल, नेकपा एमाले प्रत्यासीका उम्मेदवार सिंह, लोसपा नेपालबाट नगर प्रमुख पदमा उम्मेदवारी दिएका श्याम गुप्ताबीचमा त्रिपक्षीय लडाइ हुने स्थानीयहरुले आंकलन गरेका छन । त्यसैगरी प्रमुख दल नेपाली कांग्रेसबाट नगर प्रमुखमा मणिभुष्ण यादव पनि चुनावी दौडमा रहनुभएको छ ।
गत निर्वाचनमा पचरौता नगरपालिकामा मेयर यादवका निकटतम प्रतिव्दन्दी सिंह यसपालि नेकपा एमालेबाट प्रमुखमा र उपप्रमुखमा नसिमा खातुनको उम्मेदवारी परेको छ । त्यसैगरी जसपा नेपालबाट सफगुन खातुन तथा लोकतान्त्रिक समाजवादी पार्टीबाट भने गत निर्वाचनमा राजपाबाट निर्वाचित ईन्दुकुमारी यादव चुनावी दौडमा रहेका छन ।
भौगोलिक हिसाबले नेपाल भारत सीमासंग जोडिएको पचरौता नगरपालिकामा यादव, मुस्लिम, चौधरी, राजपुत, भूमिहारलगायत अन्य जातजातिको बाहुल्यता रहेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै आउदा राजनीतिक दलका उम्मेदवारहरु मतदातालाई आफु तिर आकर्षित गर्न घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहेका छन ।