दुष्यन्त चौधरी
कलैया,सिँचाइ अभाव र दानाको मूल्य वृद्धिले बाराका माछा उत्पादन किसान समस्यामा परेका छन ।विश्व माछा दिवसको अवसरमा बारामा आयोजित कार्यक्रममा बोल्दै किसान, जनप्रतिनिधि र प्राविधिहरुले पर्याप्त सिँचाइ अभाव र दानाको मूल्य वृद्धिले किसानहरुले समस्या बेहोर्नुपरेको बताएका हुन ।नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष विरेन्द्र चौधरीले सिँचाइ र दाना अभाव, भन्सारसम्बन्धि जटिलता, मौसमीय जोखिम तथा बजार मूल्यमा अस्थिरताका कारण किसानले लगातार घाटा बेहोर्नुपरेको दुःखेसो पोख्नुभयो ।मत्स्य क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको कार्यक्रममा राख्नपर्ने उहाँको माग थियो ।

कार्यक्रममा बाराका विभिन्न स्थानीय तहबाट उपस्थित भएका माछापालक कृषकहरु प्रविन चौधरी, मनोज यादव, प्रभु साहलगायतले माछा उत्पादक किसानका समस्या बारे बोल्नुभएको थियो । किसानहरुले माछा पोखरी सुधार, अनुदानको पहुँच, गुणस्तरीय दाना, वैज्ञानिक प्रविधि र बजारमा स्थिरता कायम गरिनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका जिल्ला समन्वय समिति बाराका सभापती नरेन्द्र साहले पनि माछा उत्पादक किसानहरूले लामो समयदेखि भोग्दै आएको सिँचाइको अभाव र दाना (फिड) को अत्यधिक महँगाइलाई प्रमुख समस्याको रुपमा औल्याउनुभएको थियो ।

उहाँले माछा उत्पादक किसानहरुको यो समस्यालाई तत्काल समाधानको लागि सरकार तथा सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘माछापालनको दृष्टिले बारामा राम्रो शंभावना भएपनि किसानहरुले धेरै समस्या बेहोर्दैआएका छन, उहाँले भन्नुभयो, किसानहरुमा तालिम तथा अनुगमनको कमी, बजारमा बिचौलियाको बिगबिगी र यातायात सुविधाको अभावले किसान प्रताडित छन ।’

कृषि ज्ञान केन्द्र बाराका रामनारायण प्रसाद साहले सरकारले संचालन गरेको कृषि आधुनिकीकरण परियोजनाहरूलाई अझै प्रभावकारी बनाउँदै किसानमैत्री नीति लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अनुदानका प्रक्रियाहरू सरल, पारदर्शी र किसानसम्म छिटो नपुगेसम्म उत्पादन वृद्धिको सपना अपूर्ण हुने स्पष्ट पार्नुभयो ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यन्वयन इकाई बाराका प्रमुख रामबलमप्रसाद साहको अध्यक्षतामा कलैयास्थित श्री सिद्वेश्वर माध्यमिक विद्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा मत्स्य उत्पादनमा देखिएका संरचनागत समस्याहरू, नीति तथा बजेट अभाव, किसानको पहुँचमा नआएका प्रविधि तथा बजार व्यवस्थापनबारे जानकारी गराइएको थियो ।

Leave a Reply