काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै उनीहरूको पद रिक्त भएको औपचारिक जानकारी दिएको हो।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको भन्दै पार्टीले कारबाहीका लागि जानकारी गराएको थियो।
सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयसहित प्राप्त विवरणका आधारमा आयोगले २०८३ मंसिर २ गते उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त गरिएको आयोगले जनाएको छ।
मधेशका पाँच र कोशीका १३ जनप्रतिनिधि
पद रिक्त हुनेमा मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि रहेका छन्।
मधेश प्रदेशअन्तर्गत सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतो रहेका छन्।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पदसमेत रिक्त भएको छ।
कोशी प्रदेशमा खोटाङका आठ, इलामका दुई तथा भोजपुर, उदयपुर र सुनसरीका एक–एक जना जनप्रतिनिधिको पद रिक्त भएको छ।
खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राईको पद रिक्त भएको छ।
सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको आयोगले जनाएको छ।
यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष डालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको छ।















