वीरगन्ज,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा स्वास्थ्य चौकी र मन्दिर निर्माणको विषयमा विवाद हुँदा बुधवार स्थानीय र प्रहरीबीच झडप भएको छ ।श्री राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा अगाडि रहेको ऐलानी पर्ति जग्गामा स्वास्थ्य चौकीको भवन निर्माणको लागि वडा कार्यालयले बुधबार नाप नक्सा गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो ।प्रहरीले स्थानीयहरुको अवरोध हटाउन लाठी लार्ज गर्दा एक दर्जन व्यक्तिहरु घाइते भएको बुझिएको छ । स्थानीयकाअनुसार प्रहरीको लाठी चार्जबाट विकास यादव, भास्कर यादव, लक्षुमण यादव, गोकुल यादव, दूर्गा यादव, हेमन्त यादव, ओम यादवलगायतका घाइते भएका छन् । घाइते मध्येका गम्भीर चोटपटक लागेका गोकुल यादवको सिमरास्थित अलपाइन अस्पतालमा उपचार भइरहेको छ ।भवन निर्माणका लागि भइरहेको नाम नक्सामा अवरोध पु¥याएको आरोपमा प्रहरीले १३ जनालाई नियन्त्रणमासमेत लिएको छ । ईलाका प्रहरी कार्यालय जितपुरले विकास यादव, भास्कर यादव, दूर्गा यादव, भुषण यादव, हेमन्त यादव, ओम यादव, सन्दिप यादव, पृथ्वी यादव, रामचन्द्र यादव, आशा कुमारी यादवलगायतकालाई नियन्त्रणमा लिएको हो ।श्री राधाकृष्ण मन्दिर तथा धर्मशाला समिति बनाएर स्थानीयले केही वर्ष अगाडि १० धुर जग्गा खरिद गरेका थिए । सो जग्गाको अगाडिपट्टी करिव १ कट्ठा जति ऐलानी पर्ति सार्वजनिक जग्गा छ । वडा अध्यक्षले सोही ऐलानी पर्ति जग्गामा स्वास्थ्य चौकी बनाउनु खोजेपछि आफूहरुले विरोध गरेको स्थानीय गजेन्द्र यादवको भनाइ छ । वडाकै अर्को स्थानमा बिघौँ जग्गामा दुई तल्ले भवनसहितको स्वास्थ्य चौकी हुँदाहुँदै वडा अध्यक्ष सुल्तान अन्सारीले मन्दिर बन्न नदिने उद्देश्यले त्यहीं अगाडिको ठाउँमा स्वास्थ्य चौकी बनाउनु खोजेको यादवको आरोप छ ।उहाँले आफूहरु विकास विरोध नभएको बताउँदै मन्दिरको अगाडि स्वास्थ्य चौकीको कुनै आवश्यकता नभएको पनि बताउनुभयो । गाउँमा पहिलादेखि नै एउटा ठूलो स्वास्थ्य चौकी रहेको र त्यसैलाई सुधार गर्नुपर्ने ठाउँमा वडा अध्यक्षले निहुँ खोजेर मन्दिरअगाडि जबरजस्ती स्वास्थ्य चौकी बनाउनु खोजिरहेको उहाँको भनाइ छ ।मन्दिर निर्माणका लागि बिहीवार चैत १६ गते शिलान्यास कार्यक्रम समेत राखिएको छ । शिलान्यास कार्यक्रमको लागि सबै तयारी समेत पूरा भएको अवस्थामा मन्दिर निर्माणमा जानीजानी अवरोध पु¥याउनु वडा अध्यक्ष अन्सारीले स्वास्थ्य चौकी निर्माणको बहाना गरेको अर्का स्थानीय रामभरोस यादवले बताउनुभयो ।

Leave a Reply