निजगढ,निजगढ नगरपालिकाका पूर्वनगरप्रमुख सुरेश खनालले निजगढ वडा ९ कार्यालयलाई १ थान फोटोकपी मेसिन सहयोग गर्नुभएको छ ।जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गरेको आगजनीमा कार्यालयको फोटोकपी मेसिन नष्ट भएपछि पूर्वनगरप्रमुख खनालले बिहीवार कार्यालयमा पुगेर वडा समितिका सदस्यहरुलाई १ लाख मूल्य बराबरको क्यानोन कम्पनीको ठूलो फोटोकपी मेसिन हस्तान्तरण गर्नुभएको हो ।
गत भदौं २४ गते भएको आन्दोलनको क्रममा फोटोकपी मेसिनसहित कार्यालयका सामग्री र उपकरण आगजनी गरेर नष्ट पारिएपछि अवरुद्ध बनेको फोटोकपी सेवा सुचारु पार्न व्यक्तिगत लगानीमा मेसिन खरिद गरी सहयोग गरेको खनालले बताउनुभयो । आफू पनि सोही वडाको बासिन्दा भएकोले कार्यालयको सेवा प्रभावकारी तुल्याउने प्रयास स्वरुप फोटोकपी मेसिन सहयोग गरेको उहाँको भनाई छ ।
‘म पनि ९ नम्बर वडाकै सेवाग्राही हुँ, पूर्वनगरप्रमुख खनालले भन्नुभयो, मेसिन सहयोगबाट वडाका सबै सेवाग्राहीहरु लाभान्वित हुनेछन ।’आन्दोलनकारीहरुले कार्यालयमा रहेको फोटोकपी मेसिनसहित कम्प्युटर, फर्निचर, कागजपत्र र अन्य सामग्रीहरु सडकमा ल्याएर आगजनी गरेपछि कार्यालयको काम प्रभावित हुदैआएको थियो । सोही क्रममा कार्यालयको ३५ हजार नगदसमेत चोरी भएको थियो । वडा अध्यक्ष रामचन्द्र कटुवालले वडा कार्यालयलाई गरिएको सहयोग अनुकरणीय रहेको बताउनुभएको छ । ‘सहयोग प्रशंसनीय छ, उहाँले भन्नुभयो, वडा समितिको तर्फबाट आभार प्रकट गर्न चाहान्छौ ।’
मेसिन हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कटुवालसहित सदस्यहरु चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी बिक र वडा सचिव सोम सिंह लामालगायत कार्यालयका कर्मचारी र वडाका सेवाग्राहीहरुको पनि उपस्थिति रहेको थियो ।
यसअघि पनि स्थानीय जल उपभोक्ता समितिले १ थान स्टील दराज, १ थान ठूलो टेबुल र स्थानीय समाजसेवी अमर ग्यालनले वडा अध्यक्ष कटुवालले प्रयोग गर्ने १ थान आरामदायी कुर्सी र रामु चौलागाईले कार्यालय प्रयोजनको लागि १ थान स्टील दराज पनि सहयोग गर्नुभएको थियो
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले हाल सिमरामा भइरहेको जेनजीको आन्दोलनप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण ढङ्गले अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले जिम्मेवार पक्षले आन्दोलनको स्वरुप र संरचनालाई परिवर्तन गरेर व्यवस्थित र मर्यादित ढङ्गले अघि बढाउँदा राम्रो हुने बताउनुभएको हो ।
उपप्रमुख अधिकारीका अनुसार पछिल्लो समय सिमराका विभिन्न व्यवसायिक क्षेत्रहरूमा त्रास र असहजता बढ्दै गएको छ । निरन्तरको दबाब र अनावश्यक भिडभाडका कारण व्यवसायी प्रभावित भइरहेकाले आन्दोलनले जनजीवनमा अनावश्यक असर नपारोस् भन्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।“हाम्रो सिमरा राम्रो सिमरा हो । यहाँका व्यवसायहरूमा त्रास फैलिंदै गएको छ । शान्तिपूर्वक, संयमित र जिम्मेवार आन्दोलन नै उपयुक्त हुन्छ,” उपप्रमुख अधिकारीले भन्नुभयो ।उहाँले आन्दोलनकारीहरूलाई स्थानीय प्रशासनसँग समन्वय गर्दै सबै पक्षलाई सम्मानजनक ढङ्गले अघि बढ्न सुझाव दिनुभएको छ । अधिकारीले सिमराको शान्ति–सुरक्षा, व्यवसायिक वातावरण र सामाजिक सद्भाव जोगाउन सबैलाई जिम्मेवार भएर व्यवहार गर्न पनि अनुरोध गर्नुभएको छ ।

















