कलैया,यातायात व्यवस्था कार्यालय कलैयाले बैशाख १७ गतेदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ ।यातायात व्यवस्था विभागबाट छपाइ भई आएका नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण तथा प्रतिलिपि सम्बन्धी स्मार्ट कार्डहरू वितरण गर्न थालिएको हो ।
लामो समयदेखि रसिदको भरमा सवारी चलाउन बाध्य बारा र आसपासका सेवाग्राहीहरूका लागि यसले ठूलो राहत पु¥याउने अपेक्षा गरिएको छ । सेवाग्राहीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै कार्यालयले विशेष व्यवस्था समेत गरेको छ । आगामी वैशाख १८ देखि २० गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनहरूमा समेत लाइसेन्स वितरण कार्य नरोकिने कार्यालयले जनाएको छ ।कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार बिदाका दिनहरूमा पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काउन्टरहरू खुला रहनेछ । स्मार्ट कार्ड प्राप्त गर्नका लागि सेवाग्राहीहरू स्वयं उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ । कार्ड लिन आउँदा आफ्नो पुरानो लाइसेन्स (यदि भएमा) वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउन कार्यालयले अनुरोध गरेको छ ।विभागबाट ठूलो सङ्ख्यामा कार्डहरू प्राप्त भएकाले क्रमशः सबै सेवाग्राहीलाई वितरण गरिने योजना रहेको र धैर्यता अपनाउन समेत कार्यालयले आग्रह गरेको छ ।

















