निजगढ,निजगढ– ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय, सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाको एक कार्यक्रमबीच बिहीवार विद्यालयबाट बिदाई गरिएको छ ।उमेर हदका कारण सेवाबाट अनिवार्य अवकास पाउनुभएका मावि प्रथम श्रेणीका प्रअ तिमल्सिनाको विद्यालयका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरुले सम्मानपूर्वक बिदाई गरेका हुन । सो क्रममा तिमल्सिनालाई फूलमाला, दोसल्ला ओडाएर र कदरपत्रले सम्मान गर्दैै वडाका विभिन्न टोलमा अवीरयात्रा गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक यादवले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार सुधारमा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए ।कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले निजगढको शिक्षा क्षेत्रको विकासको लागि तिमल्सिनाले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । ‘विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्न र गुणस्तरीय शिक्षाको आधार खडा गर्न प्रअ तिमल्सिनाले धेरै ठूलो योगदान गर्नुभएको छ, उहाँले भन्नुभयो, प्रधानाध्यापक तिमल्सिनाबाट सिकेर काम गर्नसके नगरभित्र शिक्षाको गुणस्तरमा सुधार आउने छ ।’
कार्यक्रममा निजगढ वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, गौरीशंकर मावि निजगढ ८ का प्रअ बद्रीनारायण झालगायतले प्रअ तिमल्सिनाको योगदानको बारेमा बोल्नुभएको थियो । उहाँको कार्यकालमा विद्यालय मधेस प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएकोभन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ्ग, नगरपालिका कार्यालय युवा, खेलकुदा तथा शिक्षा शाखा प्रमुख उत्तम लामिछाने, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
भौतिक पूर्वाधारको सम्पन्नता र गुणस्तरीय शिक्षाले विद्यालयमा जिल्लाका विभिन्न पालिका र अन्य जिल्लाका विद्यार्थीहरुको पनि आकर्षण छ । विद्यालयमा हाल १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन ।सहायक शिक्षकको रुपमा विद्यालयमा प्रवेश गर्नुभएका तिमल्सिनाले ३५ वर्षसम्म सेवा गर्नुभएको थियो ।

















