निजगढ – भोटेकोशीको बाढी पीडित परिवारमा राहतको लागि निजगढबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।
पछिल्लो पटक आज निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका छात्रछात्राहरुले बाढी पीडित क्षेत्रमा राहत, पूर्ननिर्माण तथा पूर्नस्थापनाको लागि प्रधानमन्त्री राहतकोषमा २९ हजार ६४५ रुपैया जम्मा गरेका हुन । विद्यार्थीहरुले स्वच्छिक रुपमा संकलन गरेको सो रकम राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको प्रधानमन्त्री राहतकोषमा आज जम्मा गरेको विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले जानकारी दिनुभयो ।
त्यसैगरी आजै छिमेक लघुबित्त बित्तीय संस्थाको निजगढ शाखा अन्तर्गत निजगढ इकाइ नम्वर १७२३८ वडा नम्बर ५ मा आवद्ध महिला सदस्यहरुले पनि भोटेकोसी बाढी पीडितहरुलाई १० हजार १ सय रुपैया सहयोग गरेका छन । महिलाहरुले युथ अफ निजगढमार्फत संस्थाको समूहमा बचत गरेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन । महिला समूहले बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदन समेत व्यक्त गरेका छन ।
यसअघि निजगढका विभिन्न विद्यालय, विद्यार्थी, समाजसेवी र व्यवसायीहरुले पनि बाढी पीडित परिवारको राहतको लागि १० लाखभन्दा बढी रकम सहयोग गरिसकेका छन । त्यस्तै विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा देशभर राष्ट्रिय शोक मनाउने सरकारी निर्णयअनुसार निजगढ– ९ स्थित होली एन्जल्स बोडिङ स्कुलमा आज शोकसभा आयोजना गरी राष्ट्रिय झण्डा आधा झुकाइएको छ । शोकसभा कार्यक्रममा विद्यालयका संचालक, शिक्षक, अभिभावक, विद्यार्थी र सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।
















