गोकुल घोरसाइने
निजगढ,जेन–जी समूहको प्रदर्शनका कारण बाराको सिमरा बिहीवार पनि तनाबग्रस्त बनेको छ ।बुधवार भएको कुटपिट घटनामा संलग्न एमाले कार्यकर्ताहरुलाई पक्राउ गर्नुपर्ने माग राखेर राजमार्ग अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएका जेनजी युवा र राजमार्ग खुलाउन पुगेका प्रहरीबीच पटकपटक झडप भएको थियो । युवाहरुले सिमरास्थित त्रिभुवन राजपथ अवरुद्ध पारेर बिहान ११ बजेबाट प्रर्दशन गरेका हुन ।

प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा जेन–जी समूहको तर्फका लिलाहरी सापकोटा, श्री चौधरी, सन्देश घिमिरे र निसान श्रेष्ठ घाइते बनेका छन । उनीहरुमध्ये सन्देश र निसानको अवस्था गम्भीर देखिएकाले नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज रेफर गरिएको छ । अन्य घाइतेहरुको युवाहरुको सिमरास्थित अस्पतालमा उपचार भइरहेको जेनजी युवा कपिल खरेलले जानकारी दिनुभएको छ ।
स्थानीयका अनुसार झडप सुरु हुँदा सयौँ युवाहरू सडकमा उत्रिएर प्रहरीमाथि ढुंगा प्रहार गर्दै अघि बढेका थिए । घटनामा ६ जना प्रहरी पनि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस र २ राउन्ड हवाई फायरिङ गरेको छ भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । झडपपछि प्रहरी पछाडि हटेपछि जेनजी युवाले प्रहरीलाई केहीबेर लेखेटेका थिए ।बुधवारको घटनामा संलग्न भएको आरोपमा नेकपा एमालेका कार्यकर्ता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । तर घटनाका मुख्य दोषि अरविन्द साहलाई पक्राउ नगरिएकोभन्दै उनीहरुले प्रदर्शन शुरु गरेका हुन । जेनजी युवाले युवा संघका कार्यकर्ता साह, वडा अध्यक्ष श्रेष्ठ र अन्सारीसहित सात जनाविरुद्ध बुधवार साँझ किटानी जाहेरी दिएका थिए ।
जेन–जी युवा समूहको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले बिहीवार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ । तर युवाहरुले कफ्र्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका थिए ।
एमाले महासचिव शङ्कर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न जाँदै गरेका एमाले कार्यकर्ता र विरोध गर्न भेला भएका जेन–जी युवा समूहबिच बुधवार भएको झडपमा जेजजी समूहका बारा जिल्ला संयोजक सम्राट उपाध्ययसहित घाइते बनेपछि सिमरामा तनाव बढेको छ ।
शान्ति–सुरक्षा चुनौती बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेन–जी समूहका प्रतिनिधिसँग फोन सम्पर्क गरी वार्ताको तयारी अघि बढाउनुभएको छ । स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ ।यसैबीच जेनजी युवाहरुले बिहीबारसम्मको लागि प्रदर्शन स्थगित गरेका छन । कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्ने प्रशासनले दिएको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् । जेनजी युवा कपिल खरेलले प्रशासनसंगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताउनुभयो । उहाँका अनुसार प्रहरी प्रशासन र जेनजीबीच शुक्रवार वार्ता हुनेछ ।प्रर्दशन रोकिएपछि सिमरामा यातायात र पसल सुचारु भएको अवस्था सामान्य बनेको छ ।यसैबीच राति अबेर प्राप्त खबर अनुसार सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ ।
बुधबार जेनजी समूहले गरेको विरोध प्रदर्शनमा सिमरा चोकमा वादविादमा साहले जेनजी युवालाई मुक्का प्रहार गरेर फरार भएका थिए ।पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारीलाई प्रहरीले अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
आन्दोलनको रुप परिवर्तन गरौं ः उपप्रमुख अधिकारी
मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले हाल सिमरामा भइरहेको जेनजीको आन्दोलनप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण ढङ्गले अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले जिम्मेवार पक्षले आन्दोलनको स्वरुप र संरचनालाई परिवर्तन गरेर व्यवस्थित र मर्यादित ढङ्गले अघि बढाउँदा राम्रो हुने बताउनुभएको हो ।उपप्रमुख अधिकारीका अनुसार पछिल्लो समय सिमराका विभिन्न व्यवसायिक क्षेत्रहरूमा त्रास र असहजता बढ्दै गएको छ । निरन्तरको दबाब र अनावश्यक भिडभाडका कारण व्यवसायी प्रभावित भइरहेकाले आन्दोलनले जनजीवनमा अनावश्यक असर नपारोस् भन्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।
“हाम्रो सिमरा राम्रो सिमरा हो । यहाँका व्यवसायहरूमा त्रास फैलिंदै गएको छ । शान्तिपूर्वक, संयमित र जिम्मेवार आन्दोलन नै उपयुक्त हुन्छ,” उपप्रमुख अधिकारीले भन्नुभयो ।उहाँले आन्दोलनकारीहरूलाई स्थानीय प्रशासनसँग समन्वय गर्दै सबै पक्षलाई सम्मानजनक ढङ्गले अघि बढ्न सुझाव दिनुभएको छ । अधिकारीले सिमराको शान्ति–सुरक्षा, व्यवसायिक वातावरण र सामाजिक सद्भाव जोगाउन सबैलाई जिम्मेवार भएर व्यवहार गर्न पनि अनुरोध गर्नुभएको छ ।

















