गोकुल घोरसाइने

निजगढ,हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरु विवरण नलिइ काठमाण्डौं फर्किने तयारी गरेपछि निजगढका पीडित केरा खेति गर्ने किसान चिन्तित बनेका छन ।

एक साताअघि आएको हावाहुरीले ढालेर बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्सुरेन्स कम्पनी लि.काठमाण्डौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरुले केही किसानहरुलाई मात्रै भेटर अन्य किसानलाई ४÷५ घण्टाभित्र विवरण पेस गर्न खबर गरेपछि क्षतिको विवरण टिपाउन नपाएर किसानहरु चिन्तित बनेका हुन ।

हुरीले क्षेति गरेको केराको विवरण संकलन गर्न बीमा कम्पनीका कर्मचारीहरु बुधवार निजगढ आएका हुन ।

‘किसानलाई जानकारी नै नदिइ कर्मचारीहरु आएका रहेछन, स्थानीय अगुवा किसान गोविन्द खरेलले भन्नुभयो, धेरैको विवरण टिपोट गर्न छुटेको छ ।’ उहाँका अनुसार कर्मचारीले बिमा गरेका निजढका करिव २४२ किसान मध्ये ४०÷५० जनाको मात्रै विवरण टिपोट गरेर लगेका छन । बाँकी किसानको हकमा भने बुधवार साँझभित्र क्षतिको विवरण पेस गर्नु पर्ने भनेर खबर छोडेर कर्मचारीहरु फर्किएको उहाँले बताउनुभयो ।

गत बैशाख १६ गते पानीसंगै आएको हुरीले केराको बोट ढालेर ५ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको निजगढ ९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजगढमा करिव १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षेति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए । तर बेच्ने बेला भएपछि आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरु समस्यमा परेको निजगढ ९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताउनुभयो ।

निजगढमा केरा खेति गर्ने करिव ७ सय किसान मध्ये थोरैले मात्रै बिमा गरेको र बिमाबापतको रकम लिन उनीहरुले समस्या बेहोर्नु परेको किसानहरुको गुनासो छ । गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन । निजगढ ९ का किसान विश्वना खरेलका अनुसार गत वर्ष क्षति पुगेका मध्ये २९ जनाको रकम भुक्तानी बाँकी रहेको छ । बिमा कम्पनीले क्षतिको सही मूल्याङ्कन गरेर रकमसमेत नदिएपछि उहाँले बिमा समितिमा मुद्दा दायर गर्नुभएको छ ।

Leave a Reply