सिम्रौनगढ,इलाका प्रहरी कायार्लय सिम्रौनगढले सोमवार बिहान गरेको विशेष अपरेशनको क्रममा ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ ।प्रहरी टोली नियमित निगरानीमा रहेको बेला कोतवालीबाट रामनगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ०२–०३ ००६प ३६१४ नम्बरको मोटरसाइकलप्रति शंका लागेर बिहान करिब ४ः३० बजे चेकजाँच गर्दा ५४ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले मोटरसाइकललाई पछ्याएको थियो ।
प्रहरी टोली नजिकै पुगेपछि चालक मोटरसाइकल छोडेर फरार भएको सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जानकारी दिनुभयो । चालक फरार भएपछि प्रहरीले मोटरसाइकल भएको स्थानलाई घेराबन्दी गरेर चेकजाँच गरेको थियो ।सो क्रममा मोटरसाइकलको पछाडितर्फ ठूलो बोराभित्र रातो प्लास्टिकले कसेर राखिएको अवस्थामा ५४ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा गाँजा बरामदले सो कार्यमा संगठित तस्कर समूहको संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
बरामद गाँजा तथा मोटरसाइकल दुवैलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ ।यता फरार चालकको पहिचान तथा सम्भावित संलग्नता पत्ता लगाउन प्रहरी टोलीलाई विभिन्न स्थानमा परिचालन गरिएको निरीक्षक साहले जानकारी दिनुभएको छ । ‘हामीले शान्ति सुरक्षा कायम गर्न विशेष अपरेशन तीव्र पारेका छौँ । अवैध कार्यमा संलग्न कोही पनि बच्न सक्दैनन् । फरार व्यक्तिहरु छिट्टै समातिनेछन ।’
सिम्रौनगढ र पचरौता नगरपालिका क्षेत्रलाई लागू औषध तथा अबैध कारोबारमुक्त क्षेत्र बनाउने लक्ष्यसहित प्रहरीले सो क्षेत्रमा निगरानी कडा पार्दैआएको र बनाएको सम्भावित तस्करी मार्गहरूमा पनि आकस्मिक चेकजाँच जारी राखिने बताइएको छ ।


















