कलैया,नेपाल शिक्षक महासंघको केन्द्रीय आन्दोलन कार्यक्रमअनुसार आइतवार जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बारामा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।आन्दोलन परिचालन समिति बाराका संयोजक राजकिशोर सहनीको नेतृत्वमा दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको धर्ना कार्यक्रम सम्पन्न भएको हो ।
यसअघि शुक्रवार महासंघको केन्द्रीय पहिलो चरणको आन्दोलन अन्तर्गत बाराका १६ वटै स्थानीय तहहरूमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरिएको छ ।
धर्नामा सहभागी शिक्षकहरूले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बारा पारित ९ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।त्यस्तै महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सहमति विपरीतका प्रावधानहरू समावेश गरिएको भन्दै आपत्ति जनाएको छ ।
महासंघले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिँदै सरकारसँग तत्काल वार्ता गरी मागहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।
त्यसैगरी नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा दिउँसो १ बजेदेखि ३ बजेसम्म इकाई परिसरमा धर्ना दिइएको थियो । धर्नापश्चात् इकाई प्रमुख हरि राउतलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
अध्यक्ष यादवका अनुसार, देशका ७७ वटै जिल्लामा एकैसाथ २ घण्टे धर्ना र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको हो । आन्दोलन गत चैतदेखि काठमाडौँमा २९ दिनसम्म चलेको सडक आन्दोलनको निरन्तरता हो ।
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनको मस्यौदाप्रति असहमति जनाउँदै महासङ्घले प्रथम चरणको आन्दोलन गरेको हो । गत वैशाख १७ गते सरकारसँग ९ बुँदे सहमति भए पनि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले उक्त सहमति बेवास्ता गरी विधेयकको मस्यौदा पेस गरेको भन्दै महासङ्घ आन्दोलनमा उत्रिएको अध्यक्ष यादवले बताउनुभयो ।नेपाल शिक्षक महासङ्घले सरकारसँगको सहमति कार्यान्वयन र शिक्षकहरूको हकहित सुनिश्चित गर्न थप दबाबमूलक कार्यक्रमहरू गर्ने तयारी गरिरहेको जनाएको छ ।


















