निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले कसैको पनि दवावमा परेर काम नगर्ने बताउनुभएको छ ।प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागतमा निजगढ नगरपालिका कार्यालयमा आज भएको स्वागत कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘कसैले पनि दबाब नदिँदा म खुसी हुन्छु, उहाँले भन्नुभयो, कानुन र विधिअनुसार गर्न २४सैं घण्टा काम गर्न तयार छु, कानुन र विधिअनुसार गर्नुपर्ने कामबाहेक अनावश्यक दबाव मन पर्दैन ।’उहाँले आफू कार्यालय र सार्वजनिक हितको कामको सिलसिलामा सधै तत्पर हुने पनि बताउनुभयो । ‘निजगढमा रहेको बेला व्यक्तिगत स्वार्थ र सम्बन्धका काम बाहेक सार्वजनिक हितको लागि २४सैं घण्टा उपलब्ध हुनेछु ।’ उहाँले भन्नुभयो ।

निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गलगायत जनप्रतिनिधि र कर्मचारीहरुले अधिकृत गौतमलाई माला र टिका लगाएर कार्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै उपप्रमुख सोममाया थिङ्गले छोटो समयमा नै हुने कर्मचारीहरुको सरुवाले कार्यालयको काम प्रभावित हुदैआएको गुनासो गर्नुभएको थियो । उहँले आफूहरु कर्मचारीहरुलाई कुनै किसिमको दवाव नदिएको बरु कार्यालयको काममा यथासक्य सहयोग नै गर्दैआएको पनि बताउनुभयो ।कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनालगायतले बोल्नुभएको थियो ।
मुगुको छायानाथ रारा नगरपालिकाबाट सरुवा भएर आउनुभएका अधिकृत गौतम आज नगरपालिका कार्यालयमा हाजिर हुनुभएको थियो ।

निजगढका प्रमुख प्रशासकीय अधिकृत उपसचिव राजेन्द्रबहादुर अर्यालको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गौतमलाई निजगढमा खटाएको थियो । गौतमको पाँचखाल नगरपालिका (काभ्रे) र हेटौडा उपमहानगरपालिकालगायतका स्थानीय तहमा समेत प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेको अनुभव छ ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय अधिकृतमा सरुवा हुनुभएका अर्यालको शुक्रवार निजगढबाट बिदाई गरिएको थियो ।

Leave a Reply