काठमाण्डौ – सरकारले गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।योसँगै जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप भएको छ । आयोगको दोस्रो पटक थप भएको म्याद पर्सि बुधवार माघ २८ गते सकिँदैछ ।

सरकारले गएको असोज ५ गते विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।तीन महिनाको कार्यादेशसहित गठित आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थप गरेको थियो । आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले फेरि २० दिन आयोगको म्याद थप गरेको थियो ।यस्तै बैठकले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने हुन्छ ।

Leave a Reply