सिमरा,प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख स्वर्गीय डा. कृष्ण पौडेलको परिवारका सदस्यसंग बालुवाटारमा भेट गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले शुक्रवार र शनिवार दुई दिन डा. पौडेलकी पत्नी शर्मिला, छोरा सुफल, छोरी सफलतासहित परिवारका अन्य सदस्यसंग भेट गर्नुभएको हो । प्रधानमन्त्रीलाई भेटन शुक्रबार बालुवाटार पुगेका पौडेल परिवारसंग उहाँले एक घण्टा कुरा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले बिहानको खाना खान आउने गरी पुनः बोलाएपछि पौडेल परिवार शनिवार पनि बालुवाटर पुगेको थियो । शनिवार पनि प्रधानमन्त्री ओलीले परिवारका सदस्यहरुसंग करिब एक घण्टा कुरा गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले डा. पौडेलका छोरा र छोरीको शिक्षाको विषयमा जानकारी लिदै पारिवारिक कुराकानी गर्नुभएको थियो । प्रधानमन्त्रीले ओलीले स्वर्गीय डा. पौडेलको छोराछोरीको शिक्षा, पत्नी शर्मिलाका लागि आफूले सहयोग गर्ने बताउनुभएको परिवारका सदस्यहरुले जानकारी दिएका छन ।

जीतपुरसिमराका प्रथम नगर प्रमुख डा. पौडेलको २०८० असोज २५ गते हृदयघातका कारण निधन भएको थियो ।स्वर्गीय डा. पौडेलप्रति श्रद्धान्जली र घटनाबाट शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्न २०८० कार्तिक १८ गते ओली डुमरवानास्थित घरमै पुग्नुभएको थियो । डा. पौडेलप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले त्यतिबेलै काठमाण्डौं आएर आफूसंग भेट्न परिवारका सदस्यलाई अनुरोध गर्नुभएको थियो ।

ओलीको दिएको निम्ताको झण्डै एक वर्षपछि भेट्न पुगेका परिवारका सदस्यलाई प्रधानमन्त्री ओलीले दुई दिन समय दिनुभएको हो । प्रधानमन्त्री ओलीले असोज पहिलो साता आफू अमेरिका जान लागेको र अमेरिकाबाट फर्किएपछि पुनः भेट गर्ने बताउनुभएको छ ।नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवसमेत रहनुभएका डा. पौडेल नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली निकट मानिनुहुन्थ्यो । विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गरेका पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट लोकप्रिय मतसहित जीतपुरसिमराको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । डा. पौडेल सहकारी अभियन्ता समेत हुनुहुन्थ्यो ।

Leave a Reply