मंसिर ४ नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै गइरहेको छ । साँझ संचारमाध्यामहरु हेरियो भने नेताका कुरा नै बढी सुनिन्छन् । संचारमाध्यामहरुमा बिभिन्न दृष्टिकोणबाट पनि समाचार प्रकाशित र प्रसारित छन् तर यिनै संचारमाध्याममा नेताले बोलेका भाषणहरुको कुरा गर्ने हो भने उनीहरुमा अझैपनि एजेण्डा कम भएको अनुभूति हुन्छ । ब्यक्तिगत गाली गलौजमा दलका शीर्ष नेता नै उभिएको देखिन्छ । जुन मतदाताका लागि राम्रो कुरा होइन ।
मतदाताहरुले त राजनीति दल र तिनका उम्मेदवारले ल्याउने एजेण्डाका आधारमा मत दिने हो । चिनेको वा शीर्ष नेता वा आफन्त वा यस्ता अन्य कुरै कारणले आफ्नो अमुल्य मत दिने नै होइन । हुनत राजनीतिक दलहरुको एजेण्डा भनेको घोषणा पत्र नै होला तर घोषणा पत्र त कार्यान्वयनमा समस्या नै समस्या देखिन्छ । कागजको पान्ना बनाएर मतदातालाई भ्रमित बनाउने सपना पनि नेताहरुले अब देख्न हुन्न ।
किनभने नेताहरुमा विवेक नभएपनि मतदाताहरुमा छ । मतदाताहरुले पनि घरमा मत माग्न आउने उम्मेदवारसंग एजेण्डामा छलफल गर्न जरुरी छ । आफू फलाना पार्टीको शुभचिन्तक भन्दैमा मत दिने परम्पराको अन्त्य हुन पनि आवश्यक छ । त्यसैले पनि अब यही समयमा मतदाताहरुले एजेण्डाको कुरा गर्न आवश्यक छ र उम्मेदवारले पनि एजण्डा बोक्न नत्र ब्यक्तिगत गाली गर्न ।















