निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।साधारण सभामा उपभोक्ताहरुबीच सहमति हुन नसक्दा शुक्रवार नै गर्ने भनिएको नयाँ कार्यसमिति चयन भने केही समयपछि पछि मात्रै हुने भएको छ ।
उपभोक्ताबीच सहमति हुन नसक्दा नयाँ कार्यसमिति चयन हुन नसकेको निर्वाचन मण्डलका संयोजक एंव सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिनुभयो । उपभोक्ताहरुबीच आम सहमति गरेर आगामी १५ दिनभित्र नयाँ कार्यसमिति चयन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।नयाँ कार्यसमिति चयनको लागि साधारण सभाले बजगाईसहित निजगढ सवडिभिजन वन कार्यलयकी अधिकृत शर्मिला नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको छ ।
यसअघि समूहका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो साधारण सभाको उद्धघाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले वन समूहको व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वन अधिकृत नेपाल, महासंघ बाराका अध्यक्ष बजगाई, लेखा समिति संयोजक बद्री चिमोरिया, समूहकी सचिव बबिता सापकोटा, समूहका पूर्व अध्यक्ष कर्णबहादुर लामालगायतले बोल्नुभएको थियो ।साधारण सभाको बन्द सत्रले अध्यक्ष पाण्डेले समूहको प्रगति प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष गणेश भण्डारीले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।
















